काठमाडौं-नेपाल रेल्वे कम्पनीले १ सय ३९ जना कर्मचारी मागेको छ। जयनगर-जनकपुर खण्डमा रेल सञ्चालनका लागि कम्पनीले उक्त संख्यामा कर्मचारी माग गरेको हो।
रेलमार्गमा चल्ने रेल नेपाल आउने क्रममा रहेको छ। रेल सञ्चालनका लागि कम्पनीले प्रशासन तथा प्राविधिक कर्मचारी माग गरेको हो। उनीहरुलाई करारमा नियुक्ति गर्न लागिएको हो।
कम्पनीले करार सेवामा खुल्ला प्रतिस्पर्धाबाट कर्मचारी नियुक्ति गर्न लागिएको र सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन भनेकाे छ। कम्पनीले अधिकृतस्तरका कर्मचारीका लागि २१ वर्ष र सहायक स्तरका कर्मचारीका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख गरेको छ।
यसअघि कम्पनीले कर्मचारी माग गरे पनि आवेदन परेको थिएन। प्राविधिक कर्मचारी अभाव रहेको र दक्ष जनशक्ति नभएपछि कम्पनीले माग गरेका पदहरुमा आवेदन पर्न सकेको थिएन।
कम्पनीका अनुसार अधिकृतस्तरका कर्मचारीका लागि १ हजार र सहायक तहका कर्मचारीका लागि ४ सय रुपैयाँ आवेदन दस्तुर तोकिएको छ। कम्पनीले यसरी नियुक्त गरिने कर्मचारीको करार अवधि ६ महिना रहेको जनाएको छ।
कम्पनीले माग गरेको विभिन्न पदका काम गर्न इच्छुक आवेदकले अनलाइनमार्फत् दिन सकिने छ। जनकपुर–जयनगर रेल सेवा सञ्चालन गर्ने सरकारको तयारी छ। ती रेल गत फागुनमा नै निर्माण सम्पन्न भए पनि कोरोनाका कारण नेपाल ल्याउन समस्या भएको हो।
कूल ८४ करोड ६५ लाख रुपैयाँमा जिटुजीमा खरिद गरिएका दुईवटा रेल यही महिनाभित्रै ल्याउने सरकारको तयारी छ। जनकपुरदेखि बर्दिवाससम्म भारतको सहयोगमा निर्माण भइरहेको रेल्वे ट्रयाकमा पहिलो चरणमा जनकपुर–जयनगरसम्म ३४ किलोमिटर रेल्वे सञ्चालन गरिने छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।