नयाँदिल्ली–भारतीय कांग्रेस अध्यक्ष सोनिया गान्धीले पार्टीमा महत्वपूर्ण परिवर्तन गरेकी छन्। गुलाम नबी आजाद तथा मल्लिकार्जुन खड्गेसहित ४ वरिष्ठ नेताहरुलाई महासचिवको जिम्मेवारीबाट हटाइएको छ भने कांग्रेस कार्य समितिको पनि पुनर्गठन गरिएको छ।
पार्टीका संगठन महासचिव केसी वेणुगोपालले विज्ञप्ति जारी गर्दै आजाद र खड्गेसहित मोतीलाल बोरा र अम्बिका सोनीलाई महासचिवबाट मुक्त गरिएको जनाएका हुन्।
यसका साथै गान्धीले पार्टीको संगठनात्मक र अन्य कार्यमा आफ्नो सहयोगका लागि विशेष समिति पनि गठन गरेकी छन् भने केन्द्रीय निर्वाचन समिति पनि पुनर्गठन गरिएको छ।
गुलाम नबी आजाद हरियाणा राज्यको जिम्मेवारी पनि सम्हालेका थिए। उनको ठाउँमा विवेक वंशललाई ल्याइएको छ।
केही समयअघि पार्टीमा तल्लो तहसम्मै परिवर्तनको माग गर्दै केही वरिष्ठ नेताहरुले अध्यक्ष गान्धीलाई पत्र लेखेका थिए, जसमा आजादको नाम प्रमुख थियो। यद्यपि उनलाई महासचिवबाट हटाइए पनि कार्य समितिमा स्थान दिइएको छ।
यो परिवर्तनको फाइदा नेता रणदीप सुरजेवालालाई भएको बताइएको छ। उनलाई अब अध्यक्षलाई सल्लाह दिने उच्चस्तरीय ६ सदस्यीय विशेष समितिमा लगिएको छ। साथै उनलाई कर्नाटकको जिम्मेवारी दिँदै महासचिव बनाइएको छ। प्रियंका गान्धीलाई उत्तर प्रदेशको जिम्मेवारी दिइएको छ।
यस्तै, मुलुक वासनिकलाई मध्यप्रदेश, हरीश रावतलाई पन्जाब, ओमान चान्डीलाई आन्ध्र प्रदेश, तारीक अनवरलाई केरल, जितेन्द्रसिंहलाई असम र अजय माकनलाई राजस्थानको जिम्मेवारी दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।