मस्को- ‘सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) मा संलग्न विभिन्न आठ देशका विदेशमन्त्रीहरू बिहीबार रुसको राजधानी मस्कोमा जम्मा भएका छन्। सांघाईको अपरेसन अर्गनाइजेसन (एससीओ) का विदेश मन्त्रीहरूको बैठकका लागि उनीहरु त्यहाँ जम्मा भएका हुन्। यसै क्रममा विभिन्न देशका विदेशमन्त्रीहरूबीच आपसी र द्विपक्षीय भेटवार्ता पनि हुने भएको छ।
हाल सो संगठनमा चीन, रुस, भारत, पाकिस्तान, काजकिस्तान, किर्गीस्तान, ताजकिस्तान, उज्बेकिस्तान सदस्य रहेका छन्। भारत र पाकिस्तान पनि सो संगठनमा सन् २०१७ देखि सदस्य भएका हुन्।
यस बैठकका लागि भारतीय विदेशमन्त्री एस जयशंकर र उनका पाकिस्तानी समकक्षी साह मोहम्मद कुरेसी पनि सहभागी भएका छन्।
विदेशमन्त्रीहरुको यस बैठकको पूर्वसन्ध्यामा बिहीबार त्यहाँ भारतका विदेशमन्त्री एस जयशंकरले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गर्ने भएका छन्। यहाँ सहभागी विभिन्न देशका विदेशमन्त्रीहरूबीच द्विपक्षीय मस्कोमा भेटवार्ता गर्ने भएको पनि समाचारमा जनाइएको छ।
मस्कोमा बिहीबार भारतका विदेशमन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीबीच वार्ता हुने तय भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। भारत र चीनका बीचमा पछिल्लो समयमा सीमा विवाद चर्किंदै गइरहेका बेला विदेश मन्त्रीहरूका बीचमा हुन लागेको यस भेटवार्तालाई महत्वका साथ हेरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।