बेइजिङ- रुसको दक्षिणी क्षेत्रमा यसै महिना आयोजना हुन लागेको सैन्य अभ्यासमा चिनियाँ र रुसी सेनाले भाग लिने भएका छन्। यस सैन्य अभ्यासमा आर्मेनिया, बेलारुस, इरान, म्यान्मार, पाकिस्तान र अरु मुलुकका सेनाले भाग लिने चिनियाँ रक्षा मन्त्रालयले बिहीबार जनाएको छ।
‘ककेसस २०२०’ नाम दिइएको यस सैन्य अभ्यासमा सैन्य सवारी साधनका साथै चीनका नयाँ सैन्य जहाज पठाइने चीनले जनाएको छ।
सेप्टेम्बर २१–२६ सम्म हुने यस अभ्यासमा प्रतिरक्षात्मक कौशल, युद्धमैदानको नियन्त्रण र कमान्ड समावेश हुनेछ। यस अभ्यासले चीन र रुसबीचको विशेष सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको चिनियाँ रक्षा मन्त्रालयले जनाएको छ।
दुई दशकअघि विस्तृत रणनीतिक साझेदारीमा हस्ताक्षर गरेयता चीन र रुसबीच सैन्य र कुटनीतिक क्षेत्रमा सम्बन्धहरु निकै अगाडि बढेको छ। खासगरी यो सम्बन्ध अमेरिकी प्रभावलाई निस्तेज बनाउन निकै उपयोगी रहेको चिनियाँ अधिकारीहरुको भनाइ छ।
सिरिया र उत्तर कोरिया समेतका विश्व मामिलामा संयुक्त राष्ट्र संघमा हुने छलफलमा चीन र रुसबीच सहकार्य पनि हुन थालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।