मुम्बइ– अभिनेत्री कंगना रनावतले मुम्बइ पुग्नबित्तिकै महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेलाई चुनौति दिएकी छिन्। उनले भनिन्, 'आज मेरो घर तोडिएको छ। भोलि तिम्रो घमन्ड तोडिनेछ।'
कंगनाले ट्विटरमा एक भिडियो सेयर गर्दै यस्तो बताएकी हुन्। उनले मुख्यमन्त्री ठाकेर फिल्म माफियासँग मिलेर आफ्नो घर तोडफोडमा उत्रिएको बताएकी छिन्। उनले ठूलो बदला लिएको महशुस गरेपनि त्यो लामो समय नटिक्ने चेतावनी दिएकी छिन्।
उनले समय सधैं उस्तै नरहने बताउँदै उनले काश्मिरका पण्डितमाथि भएको घटना आफूले महशुस गरेको बताएकी छिन्। उनले भनिन्, 'म देशलाई बचन दिन्छु कि अयोध्यामाथि मात्र होइन, काश्मिरका विषयमा पनि फिल्म बनाउँछु। देशबासीलाई जगाउँछु।'
आफूमाथि यस्तो हुन सक्ने विषयमा पूर्व जानकार रहेको बताउँदै यसको विशेष अर्थ रहेको बताएकी छिन्। भनेकी छिन्, 'उद्धव ठाकरे, राम्रो भयो यो क्रुरता मसँग भयो। यसको विशेष अर्थ छ।'
केही समयदेखि सरकारको आलोचना गर्दै आएकी बलिउड अभिनेत्री कंगना रनावतको निवासमा मुम्बई महानगरले डोजर चलाएको छ । रनावतले आफ्नो घरको केही भाग गैरकानुनी तरिकाले परिर्वतन गरेको आरोपमा महानगरले डोजर चलाएको हो।
कंगनाले आफ्नो बंगलामा महानगरले डोजर लगाएको तस्बिर ट्वीटरमा पोष्ट गरेकी छन्। उनले एक पटक फेरि मुम्बईको तुलना पाकिस्ताननियन्त्रित काश्मीरसँग गरेकी छन्। यसअघि पनि उनले यसै गरी तुलना गरेकी थिइन्। उनको उक्त तुलनाले महाराष्ट्र सरकारमै हलचल ल्याएको थियो।
कंगना बुधबार हिमाचल प्रदेशबाट मुम्वई आएकी थिइन्। उनले मुम्बई प्रहरी र महाराष्ट्र सरकारको आलोचना गर्दै आएकी थिइन्। मुम्बइ प्रहरीमाथि उनले गरेको आलोचनासँगै शिव सेनाको पनि आलोचना गरेकी थिइन्। यसलगत्तै उनी भारतीय जनता पार्टी र शिवसेनाको निसानामा थिइन्। उनलाई असुरक्षा महशुस भएपछि सरकारले वाई तहको सुरक्षा दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।