फाइल तस्बिर
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भदौ २६ गतेका लागि तय भएको स्थायी कमिटी बैठकका विषयमा केन्द्रित पार्टीका दुई अध्यक्षबीच छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच साढे ११ बजेदेखि छलफल सुरु भएको थियो।
स्थायी कमिटीमा छलफलका लागि प्रस्तुत गरिने प्रस्तावका विषयमा दुवै अध्यक्षबीच छलफल भएको बुझिएको छ।
पार्टीको विवाद समाधान गर्न गत साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको थियो। त्यहीँ कार्यदलले हप्ता दिन लगाएर अध्यक्षद्वयलाई प्रतिवेदन बुझाई सचिवालय बैठकमा समेत छलफल भइसकेको छ। सोही प्रतिवेदनका आधारमा स्थायी कमिटीमा बैठकमा पनि छलफल हुने बताइएको छ।
प्रतिवेदनका विषयमा वरिष्ठ नेता माधवकुमार नेपालले १५ बुँदामा आफ्नो असन्तुष्टि सचिवालय बैठकमा राखिसकेका छन्। आफूले राखेका असन्तुष्टि स्पष्ट पारेरमात्रै कार्यदलको प्रतिवेदन स्थायी कमिटीमा पेस गर्नुपर्ने पक्षमा नेपाल छन्। त्यही विषयलाई समेत सम्बोधन हुने गरी स्थायी कमिटीमा पेस गर्ने एजेण्डाका विषयमा ओली र प्रचण्डबीच छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले बताए।
स्थायी कमिटी बैठक धेरै दिन नलम्ब्याउने तयारी गरिएको छ। स्थायी कमिटी बैठक गत असार १० गतेदेखि जारी भएकाले धेरै दिन नलम्ब्याउने तयारी गरिएको हो। स्थायी कमिटी बैठक सकिएलगत्तै असोज १५ गतेदेखि १७ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने सुझाव कार्यदलले दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।