काठमाडौं-सरकारले भूमाफियालाई पोस्नेगरी कित्ताकाट खुलाएको भन्दै विरोध भएको छ। कृषि भूमिको खण्डीकरण हुनेगरी कित्ताकाट खुलाएको भन्दै सत्तारुढ दल नेकपाकै भातृ संगठन अखिल नेपाल किसान महासंघले चर्को विरोध गरेको छ।
अखिल नेपाल किसान महासंघले एक विज्ञप्ति प्रकाशित गर्दै कित्ताकाट खोल्ने सरकारको निर्णयले सम्पूर्ण देशभक्त किसानलाई दुखी र आक्रोशित बनाएको जनाएको छ।
‘अहिलेको झण्डै २ तिहाई बहुमत प्राप्त सरकारले २ वर्षभित्र खाद्यान्नमा आत्मनिर्भर हुने र ५ वर्षमा खाद्यान्न निर्यात गर्नेस्तरमा पुर्याउने लक्ष्य घोषणा गरेको थियो। त्यसको विपरीत कित्ताकाट फुकुवा गराउने निर्णयले नेपालको कृषि भूमिलाई खण्डीकरण गर्ने गैर कृषि क्षेत्रमा उपयोग हुने अवस्था सृजना हुने काम भयो,’ महासंघले भनेको छ, ‘कृषि भूमिलाई व्यापारको बस्तु बनाउने गरिब किसानलाई बलजफ्ती सस्तोमा बेच्न बध्य बनाई भूमाफिया तथा दलालहरुलाई पोस्ने र नेपालको खाद्य संकटको दिशातर्फ उन्मख गराउने काम भयो।’
सरकारले कित्ताकाट खुलाउने निर्णय अबिलम्ब फिर्ता लिई कृषि भूमिको रक्षा गर्दै गरिब किसानको पक्षमा उभिन महसंघले आग्रह गरेको छ।

भदौ १८ को मन्त्रिपरिषद बैठकले जग्गाको कित्ताकाट खुलाउने निर्णय गरेको हो। यसअघि २०७४ सालमा सरकारले कृषि भूमिको अत्याधिक खण्डीकरण भएको भन्दै बन्द गरेको थियो। त्यहीँ निर्णयलाई उल्टाउँदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मन्त्रिपरिषदमा प्रस्ताव लगेकी हुन्।
‘कृषि भूमिको अत्याधिक खण्डीकरण भयो। कृषि भूमि मासिँदै गयो, गरिब किसानलाई यसले नराम्रोसँग असर गर्यो भन्ने भएपछि चौतर्फी दबाबपछि कित्ताकाट बन्द भयो,’ अखिल नेपाल किसान महासंघका सहसंयोजक चित्रबहादुर श्रेष्ठले भने, ‘यसअघिको निर्णयलाई उल्टाउँदै आफ्नै पार्टीको सरकारले जग्गा दलाल भूमाफियालाई पोस्नेगरी कित्ता खुलायो।’
सरकारको कित्ताकाट खुलाउने निर्णयले कृषि भूमिको खण्डीकरण भई तहनहस हुने श्रेष्ठले बताए। किसानले मल नपाउँदा दुःखी भएकै बखत कित्ताकाट खुलाउने निर्णयले सिंगो किसानमाथि बज्रपात भएको श्रेष्ठको टिप्पणी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।