काठमाडौं- छायाँ सरकारका रक्षामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रतिनधि सभातर्फ निर्वाचित सांसद भीमसेनदास प्रधानले प्रधानमन्त्री, मन्त्री र सांसदको तलब कटौती गरेर गरिब तथा विपन्न वर्गलाई खानाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
प्रधानले मंगलबार काठमाडौंबाट निर्वाचित सांसदहरुको तर्फबाट उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउँदै निषेधाज्ञाका कारण काठमाडौंका सडकमा कैयौं मनिस भोकभोकै परेको भन्दै प्रधानमन्त्रीदेखि मन्त्री र सांसदको तलब भत्ता कटौती गरेर भएपनि उनीहरुलाई खानाको व्यवस्था गर्न माग गरेका हुन्।
‘कोरोना महामारीका कारण सबै क्षेत्र बन्द छन्, दिनभर मजदुरी गरेर कमाएर परिवार पाल्नेहरुलाई यो महामारीको पीडा अन्यलाई भन्दा बढी छ, सडकमा कैयौं व्यक्ति भोकै छन्, निषेधाज्ञा बढाउँने हो भने उनीहरुलाई खानाको व्यवस्था गर्न अब प्रधानमन्त्रीदेखि मन्त्री र हामी सांसदको समेत तलब भत्ता कटौती गरेर भएपनि खानाको व्यवस्था गरौं,’ उपप्रधान एवम् रक्षामन्त्री पोखरेललाई ज्ञापन पत्र बुझाउँदै सांसद प्रधानले भने।
उपप्रधानसहित रक्षामन्त्री पोखरेललाई काठमाडौंबाट प्रतिनिधि सभा तर्फ निर्वाचित सांसदहरुको प्रतिनिधि मण्डलको टोलीले २६ बुँदे ज्ञापन पत्र बुझाएको हो।
ज्ञापनपत्र बुझाउन प्रधानको नेतृत्वमा प्रतिनिधि सभा सांसदहरु शशि श्रेष्ठ, बिन्दा पाण्डे, राजेन्द्र केसी सहितको टोली रक्षामन्त्रालय गएका थिए।
ज्ञापनपत्रमा २०७६/०७७ को स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रममा विनियोजित गरिएको बाँकी रकम र २०७७ /०७८ को विनियोजित रकममध्येबाट प्रत्येक निर्वाचन क्षेत्रमा आइसोलेसन वार्डको व्यवस्था गर्न माग गरिएको छ।
यसैगरी संक्रमणको उच्च जोखिम रहेको क्षेत्रमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलगायतका कर्मचारीहरुलाई सरकारले निर्णय गरेको भत्ता सुविधा यथाशीघ्र उपलब्ध गराउन, कोभिड र नन कोभिड अस्पताल छुट्टाछुट्टै रुपमा तोकेर अन्य रोगका बिरामीहरुलाई समेत उपचारमा सहज वातावरण सृजना गर्न माग गरिएको छ।
यसैगरी भृकुटी मण्डपको एक्सपो हल, महाँकाल स्थित सेनाको त्रिचन्द्र अस्पताल, वीर अस्पतालको नव निर्मित भवन, दरबार हाइ स्कुलको नवनिर्मित भवन, त्यस्तै १० वटै निर्वाचन क्षेत्रका उपरोक्त आवासीय स्कुल भवन छनोट गरी आइसोलेसन केन्द्र बनाउन त्यसका लागि मन्त्रीपरिषद्को निर्णय परिवर्तन गरी प्रदेशलाई समेत निणर्य गर्ने अधिकार दिन माग गरिएको छ।
यस्तै पिसिआर प्रविधिबाट हुने परीक्षण सर्वोच्च अदालतको आदेशअनुसार नै निशुल्क गर्न, हट स्पटहरुमा सेरोलोजिक टेष्ट बढाउन, मोवाइल टेस्टिङको व्यवस्था गर्न, स्वाब टेस्टको रिपोर्ट २४ घण्टामा नै दिने व्यवस्था मिलाउन ज्ञापनपत्रमार्फत् माग गरिएको छ।
लकडाउन तथा निषेधाज्ञालाई निरन्तर कायम नराखी विभिन्न मेला, पर्व, चाडपर्व अघि मात्र आवश्यकता अनुसार कायम राख्न, तर नाकाबाट हुने आवतजावतलाई कडाइ गर्न र त्यसको अनुगमन गर्ने व्यवस्था मिलाउँन माग गरिएको छ।
यस्तै अस्पतालहरुमा स्वास्थ्यकर्मीलाई संक्रमण हुने सम्भावना प्रवल रहेकाले काठमाडौंमा अवस्थित होटलहरु (६ महिनाका लागि) लिजमा लिएर आवास र खानपिनको व्यवस्था गर्न, संक्रमितको उपचारका लागि सहज हुने गरी प्लाज्मा बैंकको व्यवस्था गर्ने गरी निको भइसकेका बिरामीहरुको तथ्यांक राख्न, रेमडिसिभिर नामक औषधिलाई २५ हजार नेपाली रुपैयाँ देखि ५० हजार माथीसम्म किन्नु पर्ने बाध्यात्मक अवस्था सिर्जना गरेको भनी गुनासो आएकाले सहज रुपमा सस्तो मुल्यमा उपलब्ध हुने गरी सरकारले नै व्यवस्था गर्न तथा औषधीमा हुदै आएको कालाबजारी नियन्त्रण गर्न माग गरिएको छ ।
यस्तै चीनमा नोभेम्बरबाट खोपको व्यापारिक उत्पादन सुरु हुने भन्ने कुरा सञ्चार माध्यमबाट बाहिर आइरहेको सन्दर्भमा खोप प्राप्तिको लागि समयमा नै कुटनीतिक पहल सुरु गर्न र कोभिड-१९ को प्रभाव र अवस्थालाई अनुगमन गरी भइपरी आउँने अवस्थाको विश्लेषण गर्न छुट्टै स्वास्थ्य संसदीय समितिको गठन गर्न भनिएको छ।
ज्ञापनपत्रमा प्रतिनिधि सभा तर्फ काठमाडौंबाट निर्वाचित सांसदहरु गगन थापा, जनता समाजवादी पार्टीका राजेन्द्र प्रसाद श्रेष्ठ, रामकुमारी झाँक्री, दिव्यमणीराज भण्डारी, अञ्जना बिसंखे, मायादेवी न्यौपाने, मुकुन्द न्यौपाने, रेनुका गुरुङ सहित ११ सांसदको हस्ताक्षर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।