काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले रेलमार्ग निर्माणको विवादित ठेक्का रद्द गर्ने सरकारको निर्णय स्वागतयोग्य रहेको बताएका छन्। पूर्वपश्चिम विद्युतीय रेलमार्ग अन्तर्गतको काँकडभिट्टा–इनरुवा खण्डको लागि गरिएको ठेक्का रेलवे विभागले मंगरबार नै सूचना प्रकाशित गरि रद्द गरेपछि थापाको यस्तो प्रतिक्रिया सार्वजनिक भएको हो।
‘अनियमितता र भ्रष्टाचारको कारण विवादमा परेको काँकडभिट्टा–इनरुवा रेलमार्ग निर्माणको ठेक्का रद्द गर्ने सरकारको निर्णय स्वागत योग्य छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद,’ अध्यक्ष थापाले ट्विट गर्दै उल्लेख गरेका छन्।
उनले भ्रष्टाचारका अन्य काण्डमा समेत प्रधानमन्त्रीले हस्तक्षेप गर्ने अपेक्षासमेत गरेको उल्लेख गरेका छन्।
रेल विभागले असार १४ र १७ गते पूर्वपश्चिम विद्युतीय रेल मार्ग निर्माणका लागि विभिन्न ५४ वटा ठेक्काको बोलपत्र आह्वान गरेको थियो। निश्चित ठेकेदारले मात्र पाउने गरि सेटिङमा ठेक्का लगाइएको, रेलमार्गमा पर्ने जग्गाको मुआब्जा विवादसमेत नसुल्झिएको भन्दै उक्त ठेक्का विवादमा तानिएको थियो।
पूर्व–पश्चिम रेलमार्गअन्तर्गत रेल्वे ट्रयाक बेड बनाउन रेल विभागले ३२ अर्बभन्दा बढी लागत अनुमान गरिएको ठेक्का आह्वान गरेको थियो। विभागले असार १४ मा ३० वटा र १७ गते २४ वटा ठेक्काका लागि सूचना निकालेको थियो। १०६ किलोमिटर खण्डमा रेल्वे ट्रयाक बनाउन ठेक्का आह्वान गरिएको थियो। तर, यो खण्डमा अधिग्रहण हुने घरजग्गा र अन्य सम्पत्तिको मूल्य तोक्ने काम नभएको भन्दै विभागको आलोचना हुँदै आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।