काठमाडाैं-नेपाली कांग्रेसले बिपी कोइरालाको १०७ औं जन्मजयन्ती जुमबाट भिडिओ संवाद गरि मनाउने भएको छ।
कोरोनाको प्रतिकूल समय रहेकाले भिडिओ संंवादमार्फत् बिपी जयन्ती मनाउन लागिएको जनाइएको छ। बुधबार परेको बिपी जयन्तीमा संवादको पहिलो बहसको विषय ‘बिपीको विचार नेपालको समुन्नतिको मुल बाटो’ राखिएको छ। बुधबार दिउँसो १ बजे पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले धारणा राख्ने कार्यक्रम तय गरिएको छ। उक्त कार्यक्रमलाई केन्द्रीय कार्यालयले संयोजन गर्नेछ।
तीन दिन हुने कार्यक्रमको दोश्रो दिनमा ‘नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र बिदेश नीतिमा वीपीको योगदान’ विषयमा बहस हुनेछ। केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले संयोजन गर्ने उक्त कार्यक्रमको वक्ता उपसभापति विमलेन्द्र निधि र परराष्ट्र विज्ञहरु हुनेछन्।
तेश्रो दिन शुक्रबार हुने कार्यक्रममा बौद्धिक चिन्तकद्वय नरहरि आचार्य र प्रदीप गिरि वक्ता हुनेछन्। ‘विचार निर्माण एवं प्रचारमा बिपीकाे शैलीको आलोकमा अबको रणनीति’ विषयक कार्यक्रमको संयोजन सूचना, संचार तथा प्रचार विभाग गर्नेछ।
विभिन्न कार्यक्रम आयोजना गरेर बिपी जयन्ती मनाउन जिल्ला र विदेशस्थित जनसम्पर्क समितिलाई परिपत्र गत साता गरिएको थियो। अनिवार्य रुपले भौतिक दूरी र मास्क प्रयोग गरेर कार्यक्रम गर्न परिपत्र गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।