फोटो- rolpasamachar.com
काठमाडौं- रोल्पास्थित आफ्नै घरमा बसेका पूर्व सभामुख कृष्णबहादुर महरालाई भेट्न उर्जा, जलस्रोत तथा सिचाई मन्त्री बर्षमान पुन पुगेका छन्। पछिल्लो समय रोल्पा नगरपालिकाको मेवाङमा बस्दै आएका महरालाई भेट्न पुन बिहान ८ बजे पुगेको महराका छोरा राहुल महराले बताए।
‘उर्जा मन्त्रीज्यू कार्यक्रमको सिलसिलामा रोल्पा आउनुभएको रहेछ। त्यही अवसरमा बुबालाई भेट्न आउनुभएको हो’, राहुलले भने, ‘बिहान एक घण्टा जति चिया बिस्कुट खाएर छुट्टिनु भएको हो।’
पार्टीमा उच्च तहको सम्बन्ध भए पनि महरा र पुनबीच गुरु चेलाको सम्बन्ध पनि छ।
दुई नेताबीच पछिल्लो राजनीतिक घटनाक्रम र जिल्लाको वस्तुस्थितिका विषयमा कुराकानी भएको राहुलले बताए।
‘त्यस्तो कुनै विशेष राजनीतिक विषयमा कुराकानी भएको होइन। सुखदुःखका कुरा हुने क्रममा राजनीतिक व्यक्तिको राजनीतिक कुरा भएका हुन्’ राहुलले भने, ‘रोल्पाको विकास निर्माण र राष्ट्रिय राजनीतिक विषयमा सामान्य कुरा भए।’
महरालाई यौनदुराचारको आरोप लागेपछि आफ्नो पुर्ख्यौली घर रोल्पामा बस्दै आएका छन्। सो आरोपबाट भने उनले सफाइ पाइसकेका छन्।
पछिल्लो समय महरा परिवार सहित आफ्नै रोल्पास्थित बस्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।