काठमाडौं- खेल मिलोमतोको आरोपमा ६ वर्षअघि पक्राउ परेर राज्यविरुद्धको अभियोगमा मुद्दा खेपिरहेका पाँच खेलाडीले गएको असार २ गते सर्वोच्च अदालतबाट सफाइ पाए। विशेष अदालतले जस्तै सर्वोच्चले पनि उनीहरुमाथि लागेको अभियोग पुष्टि नहुने बतायो। तर प्रश्न अझै बाँकी नै रह्यो, के खेलाडीहरूले पैसा लिएर खेल हारेका हुन्?
प्रहरीले २०७२ असोज २७ मा कप्तान सागर थापासहित विभागीय टोली नेपाल पुलिस क्लबका गोलकिपर रितेश थापा, मनाङ मर्स्याङ्दी क्लबका विकाससिंह क्षेत्री र थ्री स्टार क्लबका पूर्व खेलाडी तथा प्रशिक्षक अञ्जन केसी र खेलाडी सन्दीप राईलाई खेल मिलोमतोको अभियोगमा पक्राउ गरेको थियो।
उनीहरुमाथि सन् २००८ को मर्डेका कप, २००९ को साफ च्याम्पियनसिप, २०११ मा मलेसियामा भएको मैत्रीपूर्ण खेल, २०११ मा नै फिलिपिन्समा भएको मैत्रीपूर्ण खेल, २०१२ मा भारतमा भएको नेहरु कप र २०१४ मा कोरियामा भएको खेलमा मिलेमतो गरेको आरोप लागेको थियो।
राष्ट्रिय झण्डा लिएर सपथ खाएर खेलमा गएका खेलाडीले राष्ट्रिय एकता र जनताको स्वाभिमान र आत्मसम्मानमा चोट पुर्याउने उद्देश्यले म्याच फिक्सिङ गरेको भन्ने आरोपमा प्रहरीले राज्य विरुद्धको कसुर अपराध ठहर गरेको थियो। प्रहरीले अनुसन्धानका क्रममा आरोप स्वीकार गरेको भिडियो लिएर फैलाएपछि खेलाडीहरुले खेल मिलेमतो गरेको यकिनमा धेरै पुगे।
खेलाडीहरु त्यसरी पक्राउ पर्नु नेपाली खेलकुदको इतिहासमा नै तहल्का मच्चाउने घटना बन्यो। खेलाडीहरुमाथिको सामाजिक गालि र अवहेलनाको श्रृंखलाले उनीहरु पीडामा परिरहे। खेल मिलोमतोको आरोप लागेपछि एसियाली फुटबल महासंघ (एएफसी) तथा विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाँचै जनालाई फुटबलका सबैखाले गतिविधिमा लाग्न नपाउने गरी आजीवन प्रतिबन्ध लगायो।
अदालतले उनीहरुमाथि लगाइको अभियोग पुष्टि नहुने भन्दै सफाइ दिएको छ। अहिले दुवै अदालतबाट सफाइ पाएका खेलाडीहरु आफूहरुमाथिको झुटो आरोपले महत्वपूर्ण समय खेर गएको भन्दै त्यसतर्फ विचार हुनुपर्ने बताइरहेका छन्। फिफाको प्रतिबन्धविरुद्ध अपिल गर्न आवश्यक रकम समेत नभएको खेलाडीहरु बताउँछन्।
प्रहरीले आफ्नो अनुसन्धानको ठूलो सफलतामा रुपमा प्रस्तुत गरेको म्याच फिक्सिङको आरोपलाई राष्ट्र विप्लवको कसुर अन्तर्गत प्रमाणित गर्न खोज्दा न त राज्यविरुद्धको अपराध देखियो न त खेल मिलेमतो भएको हो या होइन भन्ने नै यकिन भयो।
नेपालले विदेशी भूमिमा खेलेको खेलमा मिलेमतो गरेर राज्यविरुद्धको अपराध गरेको भन्ने कसुर न त स्थापित हुन सक्यो न त खेलाडीहरुको बोलिमा मात्र भर परेर गरेको होइन भन्ने ठाउँ रह्यो। विभिन्न समय विदेशी एजेन्टबाट खेलाडीहरुको नाममा आएको रकम उनीहरुले के आधारमा पाएका रकम हुन् भन्ने सामान्य अनुसन्धान समेत यकिन रुपमा हुन सकेन।
उनीहरुलाई २०७५ साल जेठ २४ गते विशेष अदालतले राष्ट्र विप्लवको कसुर नदेखिएको भन्दै सफाइ दिएको थियो। विशेष अदालतले ‘प्रतिवादीहरु उपरको दाबी आरोप पुग्न सक्ने देखिएन, त्यसैगरी राज्यविरुद्धको अपराध र सजाय ऐन, २०४६ को दफा ३.१ को कसुर अर्थात राष्ट्रविरुद्धको कसुर अन्तर्गतको कसुर पनि गरे भनिएको कार्यमा पर्न सक्ने अवस्था नदेखिएको हुँदा सफाइ पाउने ठहर्छ’ भन्ने उल्लेख गरेको थियो।
विशेष अदालतको सफाइको फैसला त्रुटीपूर्ण भएको भन्दै मुद्दा पुनः सर्वोच्चमा पुनरावेदनका लागि पुगेको थियो। सर्वोच्चले म्याच फिक्सिङ गरेको आरोप, अभियोग अनुसार राज्यविरुद्धको अपराध र सजाय ऐन २०४६ को दफा ३.१ आकर्षित हुन्छ या हुँदैन र विशेषको फैसला मिलेको छ कि छैन भन्ने हेरेको थियो।
राज्य विरुद्धको अपराध र सजाय ऐन २०४६ को दफा ३.१ मा भनिएको ‘कसैले नेपालको सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्ने नियतले कुनै अव्यवस्था उत्पन्न गरेमा वा सो गर्ने उद्योग गरेमा निजलाई जन्मकैन हुनेछ’ भन्ने व्यवस्था देखिन्छ।
यसमा कसैलाई पनि कुनै मुद्दामा सजाय गर्न कानुनको स्पष्टतः उल्लंघन गरेको हुनुपर्छ भन्ने विधिको शासनको मान्यतालाई हेरियो। कानुन बिना कसैलाई पनि सजाय गर्नु हुँदैन भन्ने विषय फौजदारी कानुन र न्यायको क्षेत्रमा विशेष कडाइका साथ हेरिन्छ। यसैले कानुनले स्पष्ट रुपमा गरेको कसुरको परिभाषा र सजायलाई हेर्दा खेलाडीहरुमाथि लागेको आरोप राज्य विरुद्धको अपराध पुष्टि हुन सकेन।
सर्वोच्च अदालतले अभियोगमा भनिएको विषयहरु गम्भीर रहेको बताउँदै त्यसलाई नेपालको सार्वभौमसत्ता वा राष्ट्रिय एकतामा खलल पार्ने कुनै कामका रुपमा लिन नमिल्ने, खेलाडीहरुले देशमा अव्यवस्था फैलाउने काम गरेको पुष्टि नहुने भन्दै विशेषकै फैसला सदर गरिदियो।
अदालतले स्पष्ट रुपमा राष्ट्र विप्लव आकर्षित हुने कानुन तानतुन गरेर कारबाही गर्न नमिल्ने बताएको छ। जसमा कानुनको अभावमा सजाय गर्न हुँदैन भन्ने मान्यतालाई विचार गर्नुपर्ने बताइएको छ।
म्याच फिक्सिङको घटनालाई कुन कानुनको आधारमा सजायको माग गर्ने भन्ने अस्पष्टताले नै आरोप पुष्टि हुन सकेन। न त अभियोगमा भनिएजस्तो अपराध नै पुष्टि भयो। जसले यो मुद्दा नेपाली कानुनको इतिहासमा समेत नयाँ विषय बन्यो।
अहिले मुलुकी अपराध संहिता, २०७४ को दफा ५१ (३) मा खेल मिलेमतो बारे उल्लेख भएको छ। तर कानुनले पूर्वघटित घटनामा पछि बनेको कानुनमार्फत सजायमा जान दिँदैन। अहिले अपराध संहितामा भनिएको छ- ‘नेपालको प्रतिनिधित्व गरी नेपालमा वा विदेशी मुलुकमा कुनै खेलाडी वा खेलाडीसँग प्रतिस्पर्धा गर्न कुनै खेल खेल्ने नेपाली खेलाडी वा खेलाडीहरुको समूहले त्यस्तो खेलको प्रतिस्पर्धाबाट आउने स्वभाविक परिणामलाई प्रतिकुल हुने गरी मिलोमतोमा वा कसैको प्रलोभनमा वा कुनै बाजी जिताउने वा हराउने गरी त्यस्तो खेल खेल्ने वा खेलाउन हुँदैन र त्यसरी कुनै खेल खेलिएको रहेछ भने राष्ट्रिय हित विरुद्धको कसुर भएको मानिने छ।’
यसैले खेलाडीले गरेको भनिएको अपराध गम्भीर हुँदा हुँदै पनि उनीहरुमाथि लगाइएको अभियोग पुष्टि हुन सकेन। न त खेल मिलेमतो गरेको हो या होइन भन्ने नै स्पष्ट भयो। न्यायाधीश डा. आनन्दमोहन भट्टाराई र न्यायाधीश बमकुमार श्रेष्ठको संयुक्त इजलासले दिएको फैसलामा पनि अभियोगमा भनिएको कानुन नै आकर्षित नहुने भएपछि तथ्यमा प्रवेश गरी अन्य कुराहरु हेरी न्याय निरुपण गर्न मिल्ने अवस्था नरहेको उल्लेख गरेको छ।
के थियो खेलाडीहरुको बयान?
विकास सिंह क्षेत्री
म नेपालको राष्ट्रिय फुटबल टिममा सन् २००७ अन्तिमदेखि नियुक्त भइ कहिले खेलमा सहभागी हुने, कहिले घाइते भएको कारण खेलमा सहभागी हुन नपाएको हुँ। मैले खेलेका खेलहरुमा सागर थापा, रितेश थापा, अन्जन केसी, सन्दीप राईसमेत भइ सहभागी भएको हो। म सन् २००८ मा भएको मर्डेका कप, २०११ मा मलेसिया तथा फिलिपिन्समा भएको मैत्रीपूर्ण खेल र २०१२ मा भारतमा भएको नेहरु कपमा सहभागी छु।
उक्त खेलहरुमा म, सागर थापा, रितेश थापा, सन्दीप राई, विराज महर्जन, भरत खवास, रबिन श्रेष्ठ, राजु तामाङ, जुमानु राई, भोला सिलवाल, निराजन खड्का, अनिल गुरुङलगायत खेलाडी जाने गरेका थियौँ। हामीले विदेशमा भएको खेलहरुमा रकम लिएरु नेपालको स्वाभिमान बिक्री गरेका छैनौँ। विदेशी एजेन्टबाट क्लबमा खेलाउने भन्ने आश्वासन आएको थिएन। मैले व्यापार व्यवसाय केही गरेको छैन। खेल खेल्दा एन्फाले प्रतिमहिना १० हजार रुपैयाँ दिन्थ्यो।
सन्दीप राई
म राष्ट्रिय टिममा सन् २००७ देखि खेल्दै आएको थिएँ। अन्य कुराहरु मलाई थाहा छैन। मलाई खेल खेल्दा रकम दिने अफर कसैले गरेका थिएनन्। २०६७ सालमा १० महिनाको लगभग १० लाख नेपाली रुपैयाँ लिएर भारत कलकोताको मोहमडन स्पोर्टिङ क्लबमा व्यावसायिक खेल खेलेको थिएँ।
म अन्जन केसी र रितेश थापा समेतले संचालन गरेको ललितपुर सम्सिखेलस्थित एफ फोर ग्यारेजको ब्यवस्थापन हेरेको थिएँ, जुन हाल संचालनमा छैन। मैले एन्फाबाट कार र बाइक उपहार पाएको छु, मासिक तलब १५ हजार दिने गरेको छ। म समेतका खेलाडीहरुले विदेशमा हुने विभिन्न खेलहरुमा रकम लिएर नेपालको स्वाभिमान बिक्री गरेका छैनौँ।
सागर थापा
म राष्ट्रिय टिममा २०६० सालदेखि नियुक्त भइ खेल्न थालेको हुँ। त्यसयता २००५ मा साफ गेम, च्यालेन्ज कप, २००६ मा साफ गेम, २००७ मा विश्वकप छनोट, च्यालेन्ज कप, साफ गेम, एफएफसी च्यालेन्ज कप खेलेँ। २००९ देखि कप्तानको रुपमा सहभागी भएर खेलेँ। खेल चाहिँ राम्रो खेलेको हो, अन्य कुरा थाहा भएन। विभिन्न विदेशी क्लबमा खेलाइदिन्छु भन्ने अफर आउने गरेको थियो तर मैले कसैसँग रकम लिएको छैन।
सरकारले एन्फामार्फत हात्तीवनमा मेरो सिटी अर्पाटमेन्टमा बस्ने व्यवस्था गरिदिएकोमा अहिलेसम्म पाएको छैन। एन्फाले हरेक महिना १५ हजार रुपैयाँ दिने गरेको थियो। मैले म्याच फिक्सिङ गरी कुनै खेल खेलेको छैन। अनुसन्धानका क्रममा अडियो तथा भिडियो रेकडएको सिडीमा भएको बेहोरा मलाई देखाइएको थिएन।
रितेश थापा
म सन् २००३ देखि राष्ट्रिय टिममा सहभागी थिएँ। २०१५ मा भारतमा भएको फ्रेन्डसिप म्याचसम्म सहभागी भएँ। म्याच फिक्सिङको बारेमा थाहा भएन। हामीले म्याच फिक्सिङ गरी खेलेको र रकम लिएको होइन। मलाई भारत, कम्बोडिया, बंगलादेश र मलेसिया समेतको क्लबमा आबद्ध हुन कुरा आएको थियो तर रकमको बारेमा कुरा भएन। नेपाल प्रहरीको तर्फबाट असई पदको तलबभत्ता र एन्फाबाट मासिक १५ हजार पाउँदै आएको छु।
सिंगापुरका टिटानीले पठाएको २ लाख २० हजार मेरो सवारी चालक अनुमतिपत्र प्रयोग गरी बुझिलिएको रकम म्याच फिक्सिङको लागि होइन। कम्बोडियाको स्थानीय क्लबमा खेल्न त्यहाँको एजेन्टले पठाएको एडभान्स हो। अनुसन्धानको क्रममा बयान गर्दा म्याच फिक्सिङ गरेको भनि स्वीकारेको छैन। जबर्जस्ती मानसिक तनाव दिइ भन्न लगाइएको हो। मैले कुनै कसुर गरेको छैन।
अन्जन केसी
म राष्ट्रिय टिममा २००५ देखि थिएँ। २००८ मर्डेका कप मलेसियामा हुँदा म टिमको सदस्य थिएँ। त्यहाँ विदेशी क्लबमा राखिदिन्छौँ भनेर एजेन्टले आश्वासन दिएको कुरा आएको थियो। तर म्याच फिक्सिङ बारे थाहा भएन। विदेशमा खेल्न जाँदा खेलाडीको केही एजेन्टहरुसँग चिनजान भएको थियो। त्यसैले विदेशी क्लबमा ट्रायल दिनका लागि उनीहरुले मेरो नाममा वेस्टर्न युनियन मनि ट्रान्सफरमार्फत रकम पठाएको हो। कुनै रकम व्यक्तिगत प्रयोजनका लागि पनि पठाएका थिए। म्याच फिक्सिङका लागि होइन।
विदेशी नागरिकहरु आवादैयाप्पानले २०१० मा पठाएको १ लाख ७५ हजार, सुपरामनिले २०१२ मा पठाएको ८३ हजार र मनिमुथुले २०१३ मा पठाएको ३० हजार मैले बुझेको हुँ। जुन मानिसले पैसा पठाएको थियो उसँग राम्रो मित्रता भएकाले मैले उसलाई पस्मिना, हस्तकलाका सामान, ग्रीन टी आदि पठाइदिन्थेँ। त्यसैले उसले पैसा पठाइदिन्थ्यो। प्रहरीले सोधपुछको क्रममा मलाई सुतिरहेको अवस्थामा उठाइ महेन्द्र पुलिस क्लबमा लगि रितेश थापाको भिडियो देखाएर जबर्जस्ती बोल्न लगाइ भिडियो लिएको हो। राष्ट्रका लागि खेल खेलेको र राष्ट्रघात नगरेको हुँदा झुटो आरोपबाट सफाइ पाउँ।
(यसअघिको समाचार शीर्षक- म्याच फिक्सिङमा सफाइ : कमजोर अनुसन्धान गलत अभियोग रहेकोमा गलत बुझिन गएकाले सच्याइएको।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।