मुम्बइ– बलिउड अभनेत्री कंगना रनावत र कन्ट्रोभर्सी एक–अर्काका परिपूरक जस्तै देखिन्छन्। 'पंगा' अभिनेत्रीले बेलाबखत पंगा लिइरहन्छिन्। उनी आफ्नो आवाज उँचो गर्ने माध्यम पछिल्लो समय ट्विटरलाई बनाइरहेकी छिन्। जहाँ उनी आफूलाई चित्त नबुझेका कुरा स्पष्ट उल्लेख गर्छिन्। जसले उनलाई विवादित बनाइरहन्छ। तर, कंगना हिरोइनलाई कमजोर देखाउने बलिउड फिल्ममा बलियो नारी पात्र भएका फिल्मकी अभिनेत्री मात्रै होइन, वास्तविक जीवनमा उनी बलियो भएर प्रस्तुत भइरहन्छिन्।
बलिउड अभिनेता शुसान्तसिंह राजपुतको आत्महत्या पछि फेरि एकपल्ट उनले आफ्नो हक्की छवि प्रस्तुत गरेकी छिन्। त्यो बलिउडका बादशाहहरुमाथि मात्रै होइन, बलिउडको राजधानी मुम्बइका शासकमाथि पनि छ।
अभिनेता सिंहको मृत्युलाई लिएर मुम्बइ प्रहरीको काममाथि लगातार प्रश्न उठिरहेका छन्। यही क्रममा कंगनाले एक ट्विट गरिन्, 'एक ठूला स्टारलाई मारिएपछि मैले ड्रग र फिल्म माफियाको र्याकेटका बारेमा आवाज उठाएँ। म मुम्बइ पुलिसमाथि भरोसा गर्न सक्दिनँ किनकि शुसान्त सिंह राजपुतका विषयमा गरिएको उजुरीमाथि नजरअन्दाज गरियो। उनीहरुलाई सवैलाई भनिएको थियो कि तिनीहरु उसलाई मारिदिन्छन्। उसलाई मारियो। म पनि असुरक्षित महशुस गर्छु । यसको मतलब यो होइन कि म फिल्म उद्योग वा मुम्बइलाई घृणा गर्छु।' त्यसपछि शिव सेनाका नेता सञ्जय राउतले भने– यदि उनलाई मुम्बइसँग डर लाग्छ भने यहाँ नआउन्।
त्यसपछि कंगनाले ट्विट गरिन्, 'सञ्जय राउतले मलाई खुला धम्की दिएँ र मलाई मुम्बइ नआउन भने। मुम्बइ पाकिस्तान अधिनस्थ काश्मिरको जस् महहशुस किन गराइरहेको छ?'
कंगनाले एक भिडियो प्रस्तुत गरेर राउतले एक टिभी च्यानलमा प्रयोग गरेको आपत्तजनक शब्दको जवाफ दिएकी छिन्। जुन यस्तो छ:
सञ्जयजी तपाईंले भन्नुभयो कि म एक खराब केटी हुँ। तपाईं सरकारी मान्छे हुनुहुन्छ। मन्त्री हुनुहुन्छ। तपाईंको जानकारीमा होला, यो देशमा हरेकदिन होइन, प्रत्येक घन्टामा कति केटीहरुको बलात्कार भइरहेको छ। कति केटीहरुको शोषण भइरहेको छ। उनीहरुको शरीर काटेर एसिड हालेर फालिन्छ। उनलाई काम गर्ने ठाउँमा गाली दिइएको छ। उनीहरुको अपमान गरिएको छ।
जब अमिर खानले उनलाई यो देशमा डर लाग्छ भने। उनलाई कसैले हरामखोर भनेन। जुन मुम्बइ प्रहरीको तारिफ गरेर म थाक्दिनँ थिँ आज उनीहरु केही गर्दैनन्। सुशान्त सिंह राजपुतका बुवाको उजुरी लिँदैनन्। मेरो बयान लिँदैनन्।
उनीहरुको म आलोचना गर्छु भने यो मेरो अभिव्यक्ति स्वतन्त्रता हो। सञ्जयजी मैले तपाईंको आलोचना गर्छु। तपाईं महाराष्ट्र होइन। त्यसैले तपाईं मैले महाराष्ट्रको आलोचना गरेको आरोप लगाउन सक्नुहुन्छ। तपाईंका मान्छेहरु भनिरहेका छन् मलाई मारिदिन्छौं।
तपाईंहरु मलाई मार्नुहोस्। किनकि यो देशको गरिमा र अस्मिताका लागि कति जनाले आफ्नो ज्यान दिइसकेका छन्। म पनि दिन्छु। मलाई मेरो कर्तव्य निर्वाह गर्नुछ। ९ सेप्टेम्बरमा भेटौंला।'
कंगानाले केही पहिलेदेखि भाइभतिजाबाद र लिंगभेदका कुरा गर्दै आइरहेकी छिन्। उनी हिन्दी फिल्म परिर्वतन नचाहने भन्दै जहीँतहीँ बोल्दै आएर आफ्नो बोल्डनेस प्रस्तुत गरिरहेकी हुन्छिन्। नियम कानुनमा नबाँधिई महिलाहरुको स्वतन्त्रता र अधिकारका बारेमा समेत बोलेर उनी पत्रकारहरुको प्रश्नमा थप प्रश्न चिह्न खडा गरिदिन्छिन्।
कंगानाले करण जोहरलाई उनकै टक सो कफी विथ करणको एक शृंखलामा ‘भाइभतिजावादको झन्डा बोक्ने मानिस’ भन्दै रोष पोखेकी थिइन्। पछि यसकै कारण २०१७ को आइफा अवार्ड समारोहमा जोहरले उनलाई छेडछाड गरेका थिए । उनले कंगनालाई महिलामैत्री फिल्म मात्रै गर्ने र आफैँ शिकार बन्ने गरेको भनी टिप्पणी गरेका थिए।
कंगनाले आफ्ना पूर्व प्रेमी ऋतिक रोशनसँग लामै बहश गरिन्। कतिपय कलाकारका साथै आम मानिसहरु समेत कंगनालाई पागलको संज्ञा दिन्छन् । अझ धेरैले उनलाई खुला पत्र लेखेरै उनका यस्ता काम र व्यवहारले नारीवादलाई नै प्रश्न चिह्न खडा गर्ने बताउँछन्।
कंगनाले २० वर्षको उमेरमा अनुराग बसुको ‘ग्याङस्टर’बाट डेब्यु गरेकी थिइन्। फिल्ममा उनी मानसिक रुपमा समस्याग्रस्त ग्याङस्टरकी प्रेमिकाका रुपमा प्रस्तुत भएकी थिइन्। पछि २००६ मा त उनी ‘ए’ लिस्टर अभिनेत्रीहरुमा परिन्। समस्याग्रस्त पात्रहरु र नयाँ नयाँ भूमिकाको अनुभव गर्न चाहने उनले फेसन (२००८), ओन्स अपन अ टाइम इन मुम्बई (२०१०), तन्नु वेड्स मनु (२०११), क्वीन (२०१३), रिभल्भर रानी (२०१४), रंगून (२०१७) र अन्य दर्जन फिल्ममा फेसन मोडलिङमा संघर्षरत महिला, गुन्डा चरित्र र हनिमुनका क्रममा एक्लै युरोप भ्रमणमा पुगेकी श्रीमतीका रुपमा प्रस्तुत भइन्। जुन उनको स्वभावसँग मिल्ने फिल्म हुन्। फिल्ममा फरक रुपमा प्रस्तुत गरेर सफलता समेत हासिल गरेकी वास्तविक जीवनमा पनि अरु भन्दा फरक रुपमा प्रस्तुत हुन रुचाउँछिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।