ढाका- बंगलादेशमा रहेको एक मस्जिदमा भएको आगलागीमा परेर कम्तीमा १२ जनाको मृत्यु भएको छ। एयर कन्डिसनरबाट भएको आगलागीको घटनामा परी डढेर अरु दर्जनौं घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन्।
उनीहरुले शनिबार बिहान दिएको जानकारीअनुसार देशको नारायणगञ्ज जिल्लामा रहेको मस्जिदमा शुक्रबार राती आगलागी भएको हो। डढेको तथा प्लाष्टिक सर्जरी सम्बन्धी केन्द्रिय कार्यालयका संयोजक समानता लाल सेनले कम्तीमा १२ जनाको मृत्यु भएको पुष्टि गरेका छन्।
उनका अनुसार कम्तीमा ३७ जना जलेर घाइते भएका छन्। डढेर घाइते अवस्थामा अस्पतालमा उपचार भइरहेकामध्ये ३५ जनाको अवस्था गम्भीर रहेको पनि उनले जानकारी दिए। घाइतेमध्ये अधिकांश ६० देखि ७० वर्षसम्ममा रहेका छन्। स्थानीय समयानुसार शुक्रबार राती नौ बजेतिर आगलागी भएको हो।
अधिकारीहरुले ग्यास चुहावतको कारण भुईं तलामा रहेको सबै आठवटै एयर कन्डिसनरमा आगलागी भएको बताएका छन्। घटना भएको बेला मस्जिदमा झण्डै एक सय जना भक्तजनहरु प्रार्थनाका लागि आएका थिए। घटनाका बारेमा अनुसन्धान सुरु भइसकेको सुरक्षाकर्मीहरुले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।