एजेन्सी–भारतीय सर्वोच्च अदालतले अधिकारकर्मी एवं वरिष्ठ अधिवक्ता प्रशान्त भुषणलाई अदालतको अवहेलना मुद्दामा एक रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ।
तीन न्यायाधीशको संवैधानिक इजलाशले भुषणलाई उनका दुई वटा ट्वीटले अदालतको अवहेलना गरेको ठहर गर्दै यस्तो सजाय सुनाएको हो।
यसअघि अदालतले उनलाई दोषीमात्र ठहर गरेको थियो। यसअघि नै दोषी ठहर गरी आफ्नो फैसला सुरक्षित राखेको सर्वोच्च अदालतले सोमबार सजाय सुनाएको हो। प्रधानन्यायाधीश एस ए बोबडे र सर्वोच्चको आलोचना गरी प्रशान्तले ट्वीट गरेका थिए। अदालतले प्रशान्तलाई अदालतसँग माफी माग्न या आफ्नो टिप्पणी फिर्ता लिन भनेको थियो, तर उनले अस्वीकार गरेका थिए।
भुषणले आफ्नो अन्तरआत्मा र अदालतको मानहानीको सम्मानका लागि आफूले माफी नमाग्ने र टिप्पणी पनि फिर्ता नलिने बताएका थिए। सर्वोच्च अदालतले आफ्नो आलोचना स्वीकार गर्नुपर्ने तर्क प्रशान्तका वकिलले सुनुवाइका क्रममा गरेका थिए।
प्रशान्तले जुन २९ मा महंगो बाइकमा बसेका सर्वोच्चका प्रधानन्यायाधीश बोबडेको तस्बिर ट्वीट गरेर टिप्पणी गरेका थिए। यस्तै अर्को ट्वीटमा भारतको अवस्थालाई लिएर पछिल्ला चार प्रधानन्यायाधीशको भूमिकामा आफ्नो विचार प्रस्तुत गरेका थिए।
त्यसमा आफै्र अग्रसर भएर सर्वोच्चले प्रशान्तविरुद्ध अवहेलनाको मुद्दा चलाएको थियो। न्यायाधीश अरुण मिश्रा नेतृत्वको बेन्चले अगस्ट २५ मा सुनुवाइ सकेर सजायको फैसला सुरक्षित गरेको थियो। भुषणले सर्वोच्च अदालतको आलोचना गर्दै २७ र २९ जुनमा दुईवटा ट्वीट गरेका थिए। ‘भविष्यमा इतिहासकारहरूले पछिल्ला ६ वर्षमा कसरी भारतमा औपचारिक संकटकालविना पनि प्रजातन्त्र मासियो भनेर मूल्यांकन गर्दा यसका लागि मुख्यरूपमा सर्वोच्च अदालतको भूमिका पाउने छ,’ २७ जुनको ट्वीटमा उनले लेखेका थिए, ‘त्यसमा पनि विशेषगरी पछिल्ला चार जना प्रधानन्यायाधीशको भूमिका।’
उनको यो ट्वीटलाई टाइम्स अफ इन्डियाले छाप्यो। २ दिनपछि उनले पुर्व प्रधान न्यायाधीशको तस्विर राख्दै दोस्रो ट्वीट गरे। २९ जुनको ट्वीटमा भूषणले सर्वोच्च अदालतका प्रधान्नयायाधीश बोबडे हार्ले डेभिडसन मोटरसाइकलमा बसेको तस्बिर पोष्ट गरेका थिए। ‘नागपुरको राजभवनमा प्रधानन्यायाधीश बीजेपीका नेताको स्वामित्वमा रहेको ५० लाख रूपैयाँको मोटरसाइकलमा चढेका छन्, हेलमेट र मास्कबिना नै,’ उनले लेखेका छन्, ‘त्यस्तो समयमा, जतिबेला उनले न्यायमा पहुँच पाउने नागरिकको मौलिक अधिकारलाई अस्वीकार गर्दै सर्वोच्च अदालतलाई ‘लकडाउन मोड’ मा राखे।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।