काठमाडौं- नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान्’ ले रुसमा ‘ग्राण्ड प्रिक्स अवार्ड’ पुरस्कार पाएको छ। रुसमा यही भदौ ७ देखि १३ गतेसम्म चलेको १९ औंं अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिबलमा साइन मिडिया प्रालिले निर्माण गरेको ‘को-हजब्याण्ड’ ले प्रथम पुरस्कार जितेको हो।
रुस, अमेरिकालगायत देशका चलचित्रकर्मी सहभागी निर्णायक मण्डलले फिल्म महोत्सवकै उत्कृष्ट फिल्म घोषणा गर्दै ‘सहायक श्रीमान्’लाई प्रथम पुरस्कारस्वरुप ग्राण्ड प्रिक्स अवार्ड प्रदान गरेको हो। ‘सहायक श्रीमान्’का निर्देशक गणेश पाण्डेले जुममार्फत् अवार्ड कार्यक्रममा सहभागी हुँदै यो सफलता नेपाल र युवा चलचित्रकर्मीका लागि ठूलो सम्मान भएको बताए।
हुम्लाको लामा समुदायमा अहिले पनि दाजुभाइका लागि एउटै श्रीमती बिहे गर्ने चलन छ। निर्देशक पाण्डेले करीब चार वर्षको छायाङ्कन र अनुसन्धानबाट चलचित्र निर्माण गरेका हुन्। पाण्डेले यसअघि गोर्खा भूकम्पमा आधारित ‘भाग्यले बाँचेकाहरु’ नामक वृत्तचित्र निर्माण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।