काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले जातीय र पार्टीगत रुपमा नभइ सबैलाई विपत आइपर्ने हुनाले पुनःनिर्माणका लागि सबैले साझा मत लिएर अघि बढ्नुपर्ने बताएका छन्।
काठमाडौं महानगरपालिकाले २०७२ सालको महाभूकम्पमा परी ज्यान गुमाउनेको सम्झनामा बुधबार यहाँ आयोजना गरेको दीप प्रज्वलन कार्यक्रममा मन्त्री अधिकारीले विपत पछिको पुनःनिर्माण सबैको दायित्व रहेको बताए।
काठमाडौंका सांस्कृतिक सम्पदालाई सम्पदाको रुपमा मात्र नभइ पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्नेमा पनि उनले जोड दिए।
कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले स्थानीय बासिन्दाको अगुवाई र कामपाको सहयोगमा आगामी जेठ १५ देखि काष्ठमण्ठपको पुनःनिर्माण सुरु गर्ने जानकारी दिए।
कामपाकी उपप्रमुख हरिप्रभा खड्की (श्रेष्ठ)ले विपतमा जहिले पनि महिला र बालबालिका बढी प्रभावित हुने हुँदा तीनलाई मध्यनजर गर्दै काम गर्नुपर्ने तर्क गरिन्।
पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले काठमाडौंको बढ्दो शहरीकरणका कारण पनि विपद्को समयमा बढी जनधनको क्षति व्यहोर्नुपरेको भन्दै त्यसलाई नियन्त्रण गर्न आवश्यक रहेको औँल्याए।
प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठले भवन निर्माण संहितालाई पूर्णरुपमा कार्यान्वयन गर्दै सबै सार्वजनिक खुल्ला स्थानको संरक्षण गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा २०७२ सालको गोरखा भूकम्पमा परी ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन गरिएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।