विराटनगर– प्रदेश १ को बुधबार बसेको प्रदेशसभा बैठकमा सदस्यले अध्यागमन कार्यालय स्थापना, नदी कटान नियन्त्रण, पर्यटकीय क्षेत्रको घोषणा, आदिवासी जनजातिको मुख्य पर्वमा सार्वजनिक बिदा दिनुपर्ने सम्बन्धमा प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन्।
उनीहरुले मोरङको बक्राहा, लोहन्द्रा र चिसाङ खोलाले मानवबस्तीलगायत खेतीयोग्य जमिन कटान गर्ने भएकाले तटबन्ध निर्माण गर्नुपर्नेमा जोड दिए।
यसैगरी, आदिवासी समुदायले मनाउने उधौली, उभौली, ल्होसारलगायतका अन्य पर्वमा सार्वजनिक बिदा दिनुपर्ने तथा संघीयताको स्पष्ट संरचना एवम् खाका तयार गर्नुपर्ने र त्यसबाट जनताको विकास र समृद्धिको चाहना पूरा गर्नुपर्ने उनीहरुले माग गरेका छन्।
सांसदहरुले पाँचथरको सिलौटे र लबेकुटी डाँडालाई पर्यटकीय क्षेत्र घोषणा गरी त्यस क्षेत्रको जग्गाको संरक्षण तथा विकासका लागि बजेट निकासा गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
यसैगरी, विराटनगरको सीमावर्ती भारतको बथनाहाको क्षतिग्रस्त पुलका कारण यस क्षेत्रको उद्योगले कच्चा पदार्थ ढुवानीमा समस्या उत्पन्न भइ उद्योग धरासायी हुने अवस्थामा पुगेकाले अविलम्ब मर्मतका लागि भारतको बिहार सरकारसँग समन्वय गर्नुका साथै विराटनगरमा अध्यागमन कार्यालय स्थापना गर्नुपर्ने माग गरिएको छ।
उनीहरुले निजी क्षेत्रले शर्तअनुसार कार्य नगरेकाले इलाम र झापाका ७ वटा चिया बगानलाई राष्ट्रियकरण गर्नुपर्ने तथा हालै प्रदेशमा भएका बम विष्फोटन तथा आपराधिक क्रियाकलापको विश्लेषण गरी अपराधीलाई कारबाहीको माग गरेका छन्।
ग्रामीण क्षेत्रमा बसोबास गर्ने सुकुम्बासीको घरजग्गा बाटो निर्माण गर्ने नाममा नभत्काउन सरकारको ध्यानाकर्षण गराउँदै सांसदहरुले दलित तथा युवालाई रोजगारमूलक तालीम प्रदान गरी खाडी मुलुक जाने कार्यलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिए।
उनीहरुले मोरङ क्षेत्र नम्बर १ अन्तर्गत वन फँडानी तथा अनियमित रुपमा सञ्चालित क्रसर उद्योग रोक्नुका साथै साझेदारी वन खारेज गरी उपयुक्त नयाँ नीति बनाइ अगाडि बढ्नुपर्ने भनाइ राखे।
यसैगरी, प्रदेश १ मा पर्ने साविक सगरमाथा अञ्चलका चार पहाडी जिल्लामा रहेका ग्रामीण विद्युतीकरणको कार्यालय प्रदेश २ मा रहेकाले नयाँ संरचनाअन्तर्गत सो चार जिल्लाका जनताको सहजताका लागि प्रदेश १ मा नै कार्यालय राख्न सरकारसँग सो क्षेत्रका सांसदहरुले अनुरोध गरे।
प्रदेशसभामा यसरी ध्यानाकर्षण गराउने सदस्यमा कृष्णकुमार राई, विष्णु तुम्बाहाम्फे, आशारत्न जवेगु, सावित्राकुमारी रेग्मी, रामबहादुर मगर, कल्पना सरदार, कूलप्रसाद साँवा र मोहनकुमार खड्कालगायत सांसद थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।