काठमाडौं–आगामी वर्षदेखि विद्यालय तथा कलेजस्तरको पाठ्यक्रममा फिल्मसम्बन्धी अध्ययन समावेश गर्न तयारी सुरु भएको छ। पाठ्यक्रम विकास केन्द्रले चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाललाई पाठ्यक्रम निर्माण समितिको पदेन सदस्यका रुपमा चयन गरेको छ।
समितिले कोरोना प्रभाव हट्नेबित्तिकै आगामी वर्षका लागि पाठ्यक्रम निर्माण गर्ने कार्य सुरु गर्ने जनाइएको छ। निम्न माध्यमिक तहदेखि नै फिल्मसम्बन्धी पठनपाठन गर्न सके नेपाली कला, संस्कृति र साहित्यको महत्व बढ्ने बोर्डले उल्लेख गरेको छ।
सुरुमा विद्यालयस्तर र त्रिभुवन विश्वविद्यालय अन्तर्गतका पाठ्यक्रममा फिल्मलाई समेट्ने तयारी गरिएको छ। त्यसपछि सबै विद्यालय र कलेजहरुमा फिल्मको विषय पनि पढ्न सकिनेछ। यसले भविष्यमा गएर फिल्मप्रति रुची हुने विद्यार्थीले पहिलेदेखि नै लगाव राख्न सक्ने र तयारी गर्ने पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशवप्रसाद दाहालले बताए।
विकास बोर्डले स्कुल तहदेखि नै फिल्मको ईतिहास, साहित्यिक पक्ष र प्राविधिक पक्षको ज्ञान जरुरी रहेकाले यसको पहल गरिएको जनाएको छ। ‘ढिलोचाँडो यसको सुरुवात हुँदैछ, यो चलचित्र विकास बोर्डका लागि मात्र हैन, आम नेपालीका लागि सुखद् पक्ष पनि हो,’ फिल्मबाटै नेपाली कला, संस्कृतिको संरक्षण, प्रवद्र्धन तथा पर्यटन प्रवद्र्धनका लागि पनि यो आवश्यक छ,’ बोर्डले भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।