गोरखा- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सरकारले आगामी दुई वर्षभित्र सबै क्षतिग्रस्त विद्यालय पुनः निर्माण गरिसक्ने लक्ष्य राखेको बताएका छन्।
भूकम्पबाट क्षतिग्रस्त गोरखा पालुङटारस्थित धर्मोदय माध्यमिक विद्यालयको नयाँ भवन हस्तान्तरण कार्यक्रममा मन्त्री पोखरेलले पुन:निर्माणको जिम्मा लिएर पनि समयमा काम नगर्ने दाताको विकल्पबारे पनि सरकारले सोच्ने उल्लेख गरे।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोगको ऋण सहयोग अन्तर्गत ५ करोड ६१ लाखमा निर्मित १३ कक्षाकोठाको ५ भूकम्पप्रतिरोधी भवनको मन्त्री पोखरेलले उद्घाटन गर्दै पालुङटार नगरपालिकाका प्रमुख दीपकबाबु कँडेललाई हस्तान्तरण गरे।
सो क्रममा मन्त्री पोखरेलले संविधानको कार्यान्वयनका क्रममा आगामी पाँच महिनाभित्र नयाँ शिक्षा ऐन ल्याउने प्रतिबद्धता समेत व्यक्त गरे। उनले अपांगता भएका विद्यार्थी साजन कुमालको अभिभावकत्व ग्रहण गर्दै विद्यालयमा भर्ना समेत गराएका थिए।
२०७२ सालको भूकम्प र परकम्पबाट गोरखाका क्षतिग्रस्त ४ सय ४३ विद्यालयमध्ये हालसम्म २ सय ५४ वटाको पुनःनिर्माण भएको छ।
मन्त्री पोखेरलले बुधबार नै पालुङटार नगरपालिका ५ मा रहेको भवानी मावि, भवानी बहुमुखी क्याम्पस, गोरखा पोलिटेक्निटल इन्स्टिच्युट, पालुङटार ४ मा रहेको अमरज्योति जनता मावि लुइँटेल, पालुङटार २ मा रहेको शारदा माविको पनि अवलोकन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।