एजेन्सी–भारतमा विपक्षी कांग्रेस कार्यसमितिको बैठक आज बस्दैछ। बिहान ११ बजे सुरु हुने बैठकमा अन्तरिम अध्यक्ष सोनिया गान्धीले नयाँ नेतृत्व चयनका लागि आग्रह गर्ने आँकलन गरिएको छ। सोनियाले पार्टीका अन्य नेताहरुलाई नयाँ अध्यक्षको खोजी गर्न आग्रह गरिसकेकी छन्।
सोनिया विभिन्न समय गरी २० वर्ष कांग्रेस अध्यक्ष रहिसकेकी छन्। २०१९ को लोकसभा निर्वाचनमा पार्टीको हारपछि अध्यक्ष राहुल गान्धीले अध्यक्ष पदबाट राजीनामा दिएका थिए। त्यसयता यही अगष्टसम्मका लागि उनी अन्तरिम अध्यक्ष भएकी थिइन्। १० अगष्टमा उनको अन्तरिम कार्यकाल पनि सकिएको छ। अघिल्लो कार्यसमितिको बैठकमा उनले पार्टी नेतृत्व सम्हाल्न नेतृत्वलाई आग्रह गरेकी थिइन्।
हालै पार्टीका २३ वरिष्ठ नेताहरुले सोनियालाई पत्र लेख्दै पार्टीभित्र शीर्षदेखि तल्लो तहसम्म परिवर्तनको माग गरेका थिए। केही नेताहरुले भने यो पत्रको विरोध गरेका छन्। राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले पार्टीका २३ नेताहरुले अध्यक्षलाई पत्र लेख्नु दुर्भाग्यपूर्ण र अविश्वसनीय भएको बताएका छन्।
यहीबीच सोनियाले राजीनामा दिने चर्चा चलेपनि प्रवक्ता रणदीप सुरजेवालाले त्यसको खण्डन गरेका छन्।
आइतबार पनि केही नेताहरुले सामाजिक सञ्जालमार्फत् सोनियालाई नै अध्यक्ष बन्न आग्रह गरेका छन् भने केहीले राहुल गान्धीको प्रस्ताव आए पनि स्वीकार्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।