बिहानै युट्युबको 'ट्रेन्डिङ' चहार्दा पहिलो नम्बरमा एउटा गीत भेटियो- आलुजस्तो गायक। अपलोड भएको केही घन्टामै धेरैमाझ पुगिसकेको गीतको भिडियो हेरेपछि लाग्यो- अरे, प्रस्तोता दुर्गेश थापाको कस्तो महानता! कस्तो प्रिय आत्मस्वीकृति! सर्वगुणसम्पन्न संसारमा को छ र? आफ्नो कमजोरी स्वीकारेर सच्याउन उद्धत हुनेहरू त हुन् संसारलाई जितिरहेका। संसारको मनमुटुमा बसेका।
केही समयअघि एक अन्तर्वार्तामा अग्रज गायकहरुको गीत गुनगुनाउँदा उनको सुरताल चिप्लिएको थियो। प्रश्नकर्ताले उनलाई गीतहरू गाउन अनुरोध गर्दा आफूलाई सहज नलाग्ने ती गीत नगाउन सक्थे। तर उनलाई आफ्नो असलीयत छल्न मन लागेन। उनले नजानेरै गुनगुनाउने कोसिस गरे। ढाँट्नु र छल्नु पो गलत त! अज्ञानी हुन त पाइयो। जानेर बिगार्नु पो अपराध त, नजानेरै कोसिस गर्न त पाइयो नि!
हेर्ने गीतमा हिट गायक दुर्गेशलाई सुन्न चाहनेहरूको कानले सहज रूपमा स्वीकारेनन्। त्यसपछि सुरु भयो क्रिया–प्रतिक्रिया। सामाजिक सञ्जालमा उनको पक्ष र विपक्षमा टिकाटिप्पणी हुन थाले। केही नाम चलेका कलाकारहरूका प्रतिक्रिया पनि देखिए। कसैले संगीतकार आलोकश्रीले जस्तै 'उनकै संसार'मा राज गर्न छाडिदिनुपर्ने बताए। कतिले गायिका अञ्जु पन्तले जस्तै गायन क्षेत्रमै जमिरहने हो भने सुरतालको ज्ञान हासिल गर्दा सुनमा सुगन्ध हुने शुभेच्छा दर्शाए।
'हिट' हुनु भनेको 'हटसिट'मा बस्नुसरह हो। जतिबेला पनि तातोले डाम्न सक्छ। सेलिब्रिटी भएका र हुन रहर गरेकाहरूलाई यति न्यूनतम ज्ञान त हुन्छ र हुनुपर्छ। दुई वर्षदेखि 'हाइहाइ'ले उचाइ नापिरहेका दुर्गेशलाई तातोको एक लप्काले भेटेको न हो। त्यति सहिदिँदा बाँकी समय त आफ्नो छँदैछ। आफ्नै खालको शुभेच्छुक छँदैछन्। उनीहरूले यति सजिलै मनबाट हटाउदैनन् पनि।
जब 'आलु जस्तो गायक' सुन्दै गएँ, मेरो मनमा उठेका माथिका शब्दका उछाल हराउँदै गए। जस्तो समुन्द्रको उछाल फिँजमा परिणत भएर हराउँछ। भिडियोको सुरुवात हेर्दा नै थाहा लागिहाल्यो- यो त त्यही क्रियाको प्रतिक्रिया गीत रहेछ। आलुको अर्थ दुईटा हुन्छ। एउटा शून्य र अरुसँग मिल्न सक्ने। शून्य हुनु भनेको एक हुने सम्भावना कायम रहनु त हुँदै हो, एकसँग मिलेर १० बनाउनु पनि हो। आलु अन्य तरकारीमा मिल्न सक्ने गुण भएको त भइहाल्यो, भैरव अर्यालले यसको बहुउपयोगीता माथि निबन्ध नै लेखेका छन्। दुर्गेश आलु हुन सक्छन्– किनभने उनी मोडेल चाहिँदा मोडेल फिट। अभिनेता चाहिँदा अभिनेता फिट। गायक चाहिँदा गायक फिट। शब्द र संगीत पनि उनी गर्छन्।
उनले बिम्वित गरेजस्तै उनी 'आलु जस्ता गायक' हुन्। सबतिर फिट मात्रै होइन, मिलनसार पनि। तर गीत सुन्दै जाँदा यी आलु जस्ता गायक 'निबुवापथ'तर्फ पो उन्मुख हुन थाले कि भन्ने महसुस हुँदै गयो।
अज्ञानता गलत होइन, थिएन। तर अज्ञानलाई महानता ठान्न थालियो भने चाहिँ गल्ती हुन्छ। अज्ञानताले सिक्न अभिप्रेरित गर्छ तर अभिमानले अर्को कमजोरी उत्खनन गर्न अभिप्रेरित गर्छ। 'जस्तालाई त्यस्तै गर्नुपर्छ' भन्ने ठान्ने दुनियाँलाई मन पर्ला र परेकै छ। तर शुभेच्छुक हुनुका नाताले मनभित्र पसेर घाइते बनाउनु पर्ने संगीत विधामा दाह्रा किटेर प्रस्तुत हुनुअघि चाहिँ सोचेको भए हुन्थ्यो भन्ने गीत हेरेपछि लागिरहेको छ।
पहिलो अन्तरा छ–
न मेरी आमाले स्कुल देखेको
न मेरो बाबाले गीत लेखेको
काँबाट सिक्नु खै मैले सुरताल
यो सुरताल सिकेको भए हुन्थ्यो भनेर मनोकांक्षा राख्नेलाई जवाफ थियो। तर सुरताल जान्नका लागि आमाले स्कुल गएको र बुवाले गीत लेखेको नै हुनुपर्ने भन्न चाहिँ कसरी सकियो? एक गाउँमा जन्मेको मान्छेका सीमितता र संघर्ष देखाउन खोजिएको होला। तर, यति गाउनुअघि तपाईंकै धेरै सरसंगत रहेको लोकगीतका वर्तमान दुई हस्ती विष्णु माझी र राजु परियारको पृष्ठभूमि हेरेको भए भइहाल्थ्यो नि!
अस्ति भर्खरै मात्र नेपाल आइडल जितेका रवि ओड र इन्डियन आइडल जितेका सनी हिन्दूस्तानी हेरेको भए भइहाल्थ्यो। तपाईंको त बरु कोही थिए। तपाईंका दाइ वसन्त थापाको को थियो र? दाइको संघर्षको फल बरु तपाईंले चाखेको कुरा आफैं बताइरहनुहुन्छ।
स्थायी छ-
नगर सवाल, हो हो माले भन्ने मान्छे गायक भो बबाल।
जनकवि केशरी धर्मराज थापालाई ढाल बनाइएको छ र दुईटा सन्देश पस्किन खोजिएको छ। एक, गाउँमा गोठालो हुनपर्ने मान्छे 'बबाल गायक भएँ, यही ठूलो हो' भन्ने अभिमान प्रकट भएको छ। अर्को 'हो हो माले' गाउने मान्छे हिट छ, तिमीहरु सुरतालका कुरा गर्छौ, भनेर सवाल गर्नेलाई चुप लगाउन खोजिएको छ।
सर्जक आफैं सवाल हो। ऊ सिर्जनामार्फत् समाज र राज्यसँग निरन्तर सवाल गरिरहेको हुन्छ। दुर्गेशलाई हिट बनाउने दुई गीतमा समाज र राज्यमाथिका सवाल छन्। अघिल्लो वर्ष महिलालक्षित चाड तीजमा बीच्चबीच्चमा हामी केटा नाच्नुपर्छ भनिएको थियो। चाड वा रमाइलोमा किन लैङ्गिक विभेध? भन्ने सवाल थियो। धेरैले मन पराए। यसपल्ट बेसारमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि व्यङ्ग्य त थियो नै। सवाल नै सवालले भरिपूर्ण पनि थियो। नभए फेरि एकपल्ट गायक आफैंले सुने हुन्छ। अरुमाथि सवाल उठाइरहने अनि आफूमाथि 'नगर सवाल' भन्ने प्रवृत्तिको चाहिँ दबाइ के होला?
अर्को अन्तरा छ-
न वनको कोइलीले सरगम जान्दछ
न कागले आफूलाई कमजोर ठान्दछ
शिक्षित हुनु र ज्ञानी हुनु फरक कुरा हुन्। उहिलेका ऋषिमुनिहरूले पिएचडी गरेका थिएनन्। लोकदोहोरीमा थुप्रै कोइलीहरु छन्, सरगम नजानेका तर मीठो गाउने। काग त गायनको विम्बका रुपमा प्रयोग भएको यही गीतमा सुनेको हो। यसबाहेक प्रकृतिको धुन कर्णप्रिय त्यतिबेला मात्रै सुनिन्छ, जतिबेला ऊ आफ्नो सुरमा हुन्छ र शान्त हुन्छ। जब खोला बाढी हुन्छ, त्यसको धुन कति कहाली लाग्दो हुन्छ? जब हावाहुरीमा परिणत हुन्छ, त्यसको संगीत कति डरलाग्दो हुन्छ।
सुरतालमा रहनु भनेको अनुशासनमा रहनु पनि हो। लयमा चल्नु भनेको सही बाटोमा हिँड्नु पनि हो। चर्चित हुनु र लोकप्रिय हुनु फरक कुरा हुन्। यो श्रुति भन्दा पनि प्रस्तुतिको युग हो। समय यस्तो चलिरहेको छ कि, यो युगमा जन्मेका भए नारायण गोपाललाई नारायण गोपाल हुन मुस्किल पर्थ्यो। यो युग तपाईंहरूको हो। तर हजुरबा पुस्ताका नारायण गोपालले अझै साझेदारी गरिरहेका छन्। गीत सुन्न चाहनेका लागि उनी युगौंयुग प्रिय रहनेछन्। त्यसैले मनोरञ्जन प्रदान गर्नु र गीत गाउनु बीच भिन्नता हुन्छन्। दर्शनीय गीतले श्रवणीय गीतलाई तत्कालीन समयमा मात खुवाउलान्। आयु श्रवणीय गीतकै हुन्छ।
यो गीत सुनेपछि मन अमिलो भइरहेको छ। त्यही अमिलो अलिकति पोखियो होला। त्यसैले प्रिय प्रस्तोता दुर्गेश, आलुजस्तै रहनू, निबुवा नहुनू।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।