एजेन्सी–साइबेरियाको अस्पतालमा कोमामा रहेका रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीलाई जर्मनीको अस्पतालमा उपचार गर्न अनुमति दिइएको छ।
नाभाल्नी राष्ट्रपति भ्लादिमिर पुटिनका कडा आलोचक मानिन्छन्। उनलाई षडयन्त्रपूर्वक विष दिइएको आशंका गरिएकाे छ। बिहीबार विमान यात्राका क्रममा चिया पिएपछि अचानक बिरामी परेका ४४ वर्षीय नाभाल्नी त्यसपछि कोमामा गएका थिए। उनको अवस्था गम्भीर रहेको बताइएको छ।
हाल साइबेरियाको ओम्स्क सहरको अस्पतालमा रहेका उनलाई शनिबार जर्मनी लगिने बताइएको छ। उनलाई लिन आवश्यक स्वास्थ्य उपकरणसहितको जर्मन टोली शुक्रबार ओम्स्क आइपुगेको थियो।
यसअघि साइबेरियन अस्पतालका डाक्टरहरुले नाभाल्नीलाई न्युन ब्लड सुगरका कारण हुने मेटाबोलिक रोग भएको र उनलाई अन्यत्र लैजान असम्भव भएको बताएका थिए। तर जर्मन डाक्टरको टिमले नाभाल्नीलाई जर्मनी लैजान सकिने उल्लेख गरेका छन्। अस्पतालका उपप्रमुख एनाटोली कालिनिचेन्कोले नाभाल्नीको उपचारका लागि अन्यत्र लैजाने विषयमा आफूहरुको विमति नरहने बताएका छन्।
यसअघि अस्पतालले स्वीकृति नदिएपछि नाभाल्नीकी पत्नी युलिया नाभाल्नायाले राष्ट्रपति पुटिनलाई पत्र लेख्दै जर्मनी उपचारका लागि लैजान अनुमति दिन माग गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।