काठमाडौं– गायिका सुनिता दुलालको तीज गीत ‘जुममा हेरेर’ सार्वजनिक भएको छ। कोरोना संक्रमणका कारण अघिल्ला वर्षहरु जस्तो जमघट हुन नपाउने अवस्थालाई गीत मार्फत् प्रस्तुत गरिएको छ।
तीजको अवसरमा गरिने कार्यक्रममा गीत गाउन धेरै निम्त्याइने मध्य पर्ने गायिका दुलालले यसपल्ट भेट इन्टरनेटको माध्यमबाट मात्रै हुने अवस्थालाई गीतमा प्रस्तुत गरेकी छिन्। पछिल्लो बैठक तथा बहशका लागि लोकप्रिय बनिरहेको एप्स जुम र फेसबुकलाई यसपल्ट तीज जमघटको माध्यम बनाउन उनले गीत मार्फत् अनुरोध गरेकी छिन्।
गीतमार्फत् उनले कोरोनाबाट जोगिनका लागि भिडभाड नगर्न समेत यसबाट सन्देश प्रवाह गरेकी छिन्। जसले बढ्दो रहेको कोरोना संक्रमण हुनबाट सवैलाई जोगाउँछ।
रोजा वलीको शब्द र सुनिल मास्केको संगीत रहेको गीत दुलालको स्वरमा रहेको छ। कुशल श्रेष्ठको छायांकन र निर्देशन रहेको छ। गीतको भिडियोमा सुनितासँगै भवानी तिमल्सिना, काब्य श्रेष्ठ, रस्मिता दर्लामी, आस्था जोशी, रोश्ना कार्की, रिमा कणेल, दिपिका श्रेष्ठ, स्वस्तिका लोहनी, आस्तिक कणेल, दीपक थापालगायत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।