काठमाडौं-अमेरिकी डेमोक्रेटिक पार्टीले जो बाइडेनलाई राष्ट्रपतिको उम्मेदवारका रुपमा औपचारिक अनुमोदन गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
‘पार्टीको चार दिने अधिवेशनका क्रममा दोस्रो दिन बाइडेनलाई औपचारिक रुपमा उम्मेदवार घोषणा गरिएको छ’, समाचार एजेन्सी एपीले लेखेको छ, ‘औपचारिक रुपमा आएको यो घोषणाले अमेरिकी निर्वाचनलाई अझै पेचिलो अवस्थातिर लैजाने छ।’
कोरोना कहरका कारण यसअघिका चुनावीसभाका सट्टामा यसपटक अमेरिकी राजनीतिक दलहरुले आफ्ना जमघट र छलफलहरुलाई भर्चुअल बनाएका छन्। डेमोक्रेटिक पार्टीले पनि ठूलो सभा गर्नुको साटो यसपटक भर्चुअल विधिबाट अधिवेशन चलाइरहेको छ। ‘७७ वर्षीय बाइडेनको उम्मेदवारीलाई पनि भर्चुअल अनुमोदन गरिएको छ’ डेमोक्रेटिक पार्टीको सञ्चार विभाग हेर्ने एक पदाधिकारीले भनेका छन्, ‘हामीलाई आशा छ, यो अनुमोदनले सबैमा अझ राम्रो शन्देश प्रवाह गर्नेछ।’
अमेरिकामा आगामी नोभेम्बरमा राष्ट्रपतीय निर्वाचन हुँदैछ ।
बाइडेनको उम्मेदवारी अनुमोदनसँगै उनको पक्षमा शुभकामना व्यक्त गर्नेहरुमा डेमोक्रेटिक र रिपब्लिकन दुवै पार्टीका शीर्ष नेताहरु पनि रहेका छन्। पूर्वराष्ट्रपति बिल क्लिन्टन, पूर्वविदेशमन्त्री जोन केरी तथा रिपब्लिकन पार्टीबाट पूर्वविदेशमन्त्री कोलिन पावेलले पनि उनलाई विजयका लागि शुभकामना दिएका छन् । ९५ वर्ष पुगेका पूर्वराष्ट्रपति जिम्मी कार्टरले भनेका छन्, ‘यसका लागि बाइडेन योग्य हुन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।