काठमाडौं- ‘दि होराइजन मल्टिमिडिया प्रालि’ले निर्माण गर्ने २६ एपिसोडको टेलिभिजन कार्यक्रम कार्यक्रम 'ऐना'को लोगो सार्वजनिक भएको छ। ललितपुरमा पत्रकार सम्मेलन गरी कार्यक्रम 'ऐना'को लोगो सार्वजनिकसँगै कार्यक्रमका प्रायोजक र 'ऐना' टिमबारे जानकारी दिइएको हो।
कार्यक्रम 'ऐना' सामाजिक र मानवीय मुद्दालाई केन्द्रमा राखेर निर्माण हुने एउटा 'टेलिभिजन सो' भएको बताइएको छ। 'ऐना' कान्तिपुर टेलिभिजनबाट २०७७ साल कात्तिक पहिलो सातादेखि हरेक हप्ता एक घण्टा प्रसारण हुने सम्मेलनमा जानकारी दिइएको छ।
कार्यक्रम 'ऐना'का प्रोजेक्ट प्रमुख राधाकृष्ण धितालले ऐना विशुद्ध सामाजिक मुद्दामा मानवीय पक्षलाई प्राथमिकतामा राखेर निर्माण हुने बताए। देशका विभिन्न स्थानमा पुगेर सामाजिक सवालमाथि अध्ययन-अनुसन्धान, घटना र पात्रहरुको मिहीन अवलोकन, घटनासँग सम्बन्धित व्यक्तिसँग स्टुडियोमा अन्तर्वार्ता तथा विज्ञ र सरोकारवालाहरुसँग छलफल गरी कुनै पनि विषयमाथिको सम्पूर्ण 'प्याकेज'का रुपमा कार्यक्रम 'ऐना' तयार हुने उनले बताए।
कार्यक्रममा कान्तिपुर टेलिभिजनका स्टेसन प्रमुख दिनेश डिसीले 'ऐना'लाई सफल बनाउन कान्तिपुर मिडिया ग्रुपले यथासम्भव साथ र सहयोग गर्ने प्रतिबद्धता जनाए।
'ऐना'को 'प्रोजेक्ट हेड'मा राधाकृष्ण धिताल, निर्देशकमा अमनप्रताप अधिकारी, प्रोड्युसरमा जनक पौड्याल, अनुसन्धान प्रमुखमा प्रकाश लामिछाने, स्क्रिप्ट राइटरमा आन्विका गिरि, डाइरेक्टर अफ फोटोग्राफीमा प्रमोद कार्की, पोष्ट प्रोडक्सनमा रमेश थापाले भूमिका निर्वाह गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।