काठमाडौं- रक्षामन्त्री एवं नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी एकताबाट आफ्नो पार्टी र माओवादी केन्द्र उम्कन नसक्ने बताएका छन्।
नेपाल मुस्लिम इत्तेहाद संगठनले आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले एकताबारे कुनै अन्योलमा नपर्न आग्रह समेत गरे। मिलाउन पर्ने सबै विषय मिलाएर निकट भविष्यमा औपचारिक रुपमा पार्टी एकताको घोषणा गरिने उनले बताए।
'हामी शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धाबाट श्रेष्ठता हासिल गर्ने सिद्धान्त र संगठनको संरचनामा आधारित पार्टी हौं। यही आधारमा एकतामा जानुपर्छ। एकताबाट भागेर कहाँ जाने?' उनले भने, 'बराबरी होइन, सम्मानजनक समझदारीमा जे आउँछ त्यो एमालेले मजाले पचाउँछ।'
विभिन्न पर्व बिदाबारे स्पष्ट पार्दै मन्त्री पोखरेलले 'सबै धर्म र समुदायको आस्थालाई सम्मान गर्दै सरकारले आवश्यक प्रबन्ध गर्ने स्पष्ट पारे।
'जाति र धर्म विशेषलाई दबाउने काम हुने छैन। सम्बन्धित समुदायलाई बिदा दिइएको समयमा कुनै राष्ट्रिय काम वा लोकसेवा आयोगको परीक्षा जस्ता अवसरहरु जुधेमा त्यसलाई सरकारले व्यवस्थापन गर्नेछ', उनले भने।
इत्तेहाद संगठनले आफ्नो समुदायको बिदा कटौती नगर्न र मुस्लिम समुदायको अधिकार स्थापित गर्न आवाज उठाउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।