एजेन्सी–ईजरायल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच सम्बन्ध सामान्य बनाउने विषयमा सम्झौता भएको छ। योसँगै ईजरायल पश्चिमी किनाराको ठूलो भाग कब्जा गर्ने आफ्नो योजना स्थगित गर्न सहमत भएको छ। अमेरिकी राष्ट्रपति डोनोल्ड ट्रम्पले २ देशबीच सम्झौता भएको घोषणा गरेका हुन्। उनले यो सम्झौता गराउन मध्यस्थकर्ताको भूमिका खेलेका थिए।
इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहू र युएईका राजकुमार मोहम्मद अल नाहयानले संयुक्त विज्ञप्ति जारी गर्दै यो सम्झौतालाई ऐतिहासिक भन्दै यसबाट मध्यपूर्वमा शान्ति कायम हुने विश्वास व्यक्त गरेका छन्।
हालसम्म कुनै पनि अरब देशहरूसँग इजरायलको कूटनीतिक सम्बन्ध स्थापना भएको छैन। तर इरानलाई लिएर बढ्दो साझा चिन्ताहरूले उनीहरूबीच अनौपचारिक सम्पर्क गराएको हो।
प्यालेस्टिनी नेताहरूले भने यो सहमतिप्रति आश्चर्य व्यक्त गरेका छन्। प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासका एकजना प्रवक्ताले उक्त सम्झौतालाई ‘विश्वासघात’ भन्दै यूएईस्थित प्यालेस्टिनी राजदूतलाई फिर्ता बोलाइएको प्रतिक्रिया दिएका छन्।
यो सम्झौतालाई ट्रम्पले ‘एउटा वास्तविक ऐतिहासिक क्षण’ भनेका छन्। सन् १९४८ मा इजरायलले स्वतन्त्रता घोषणा गरे यताको यो तेस्रो इजरायल-अरब सम्झौता हो।
यसअघि इजरायलसँग इजिप्ट र जोर्डनले यस्तैखाले सम्झौता गरिसकेका छन्। ट्रम्पले ह्वाइट हाउसमा आउँदो साता सम्झौतामा हस्ताक्षर कार्यक्रम हुने जानकारी दिए ।
त्यसअघि ट्रम्पको ट्वीट घोषणालाई हिब्रु भाषामा प्रतिउत्तर दिँदै नेतन्याहुले ‘ऐतिहासिक दिन’ भनेका थिए। अमेरिकामा राष्ट्रपति निर्वाचन नजिकै आएको समयमा यो सम्झौता भएकाले चासोका साथ लिईएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।