एजेन्सी–अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले कमला ह्यारिसलाई उपराष्ट्रपति पदको उम्मेदवारका लागि चयन गरेका छन्। अमेरिकी उपराष्ट्रपतिको प्रतिस्पर्धामा उनी प्रथम अश्वेत महिला बन्नेछिन्। उनी भारतीय आमा र जमैकन बाबुकी छोरी हुन्। उनको जन्म क्यालिफोर्नियामा भएको थियो।
यसअघि उपराष्ट्रपति पदका लागि २ पटक महिलालाई उम्मेदवार बनाइएको छ। सन् २००८ मा रिपब्लिकन पार्टीले सारा पेलिन र १९८४ मा डेमाक्रेटिक पार्टीले गिरालडिन फेरारोलाई आफ्नो उम्मेदवार बनाएका थिए।
क्यालिफोर्नियाकी सांसद ह्यारिसले यसअघ जो बाइडनलाई नै राष्ट्रपति पदकै लागि चुनौती दिएकी थिइन्। तर राष्ट्रपतिको दौडबाट बाहिरिएपछि जो बाइडेनले उनैलाई आफ्नो उम्मेदवार चयन गरेका हुन्।
क्यालिफोर्नियाको महान्यायाधिवक्ता रहिसकेकी कमला प्रहरी सुधारको समर्थक हुन्। रिपब्लिकन पार्टीका तर्फबाट भने वर्तमान उपराष्ट्रपति माइक पेन्स नै उपराष्ट्रपतिका उम्मेदवार हुनेछन्।
जो बाइडनले आफ्नो ट्वीटरमा कमलालाई उपराष्ट्रपतिको उम्मेदवारमा चयन गरेको जानकारी दिँदै त्यसका लागि आफूलाई गर्व महसुस भएको बताएका छन्। कमलाले पनि ट्वीट गर्दै बाइडनप्रति धन्यवाद व्यक्त गरेकी छन्। उनले बाइडनले नै मेरिकी जनतालाई एकताबद्ध बनाउन सक्ने बताएकी छन्।
अमेरिकामा आगामी ३ नोभेम्बरमा राष्ट्रपति निर्वाचन हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।