काठमाडौं- लगानी बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अध्यक्ष (सिइओ) सुशील भट्टलाई काम गर्न रोक लगाउने आदेश पाटन उच्च अदालतले गरेको छ। भट्टलाई सिइओका रूपमा कुनै पनि काम नगर्न मंगलबार अदालतले आदेश गरेको हो।
पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले भट्टलाई बोर्ड प्रमुखको हैसियतमा काम गर्न रोक लगाएको हो।
उच्चले अन्तरिम आदेशका विषयमा छलफल गर्ने अर्को पेशी साउन ३२ गतेलाई तोकेको छ। भट्टले नियुक्ति भई हाजिर भएकाले उक्त पदको हैसियतमा कुनै पनि निर्णय नगर्न भन्दै उच्चले रोक लगाएको हो।
‘भट्टविरुद्ध मुद्दा दायर भई इजलासमा हाजिर भएको जानकारी गराएकाले अर्को छलफल नभएसम्मका लागि लगानी बोर्ड प्रमुखको हैसियतमा कुनै पनि कार्य नर्गनू/नगराउनू,’ उच्चको आदेशमा भनिएको छ।
उच्चले निवेदनमा उठाएको विषय सार्वजनिक महत्वको र कानुनी प्रश्नलाई दृष्टिगत गरी एमिकस क्युरी पनि माग गरेको छ। उच्च अदालत बार एसोसियसनलाई दुई जना वरिष्ठ अधिवक्तालाई एमिकस क्युरीका रुपमा पठाइदिन उच्चले भनेको हो।


उच्चको यो आदेशपछि साउन ३१ गते अर्को सुनुवाई नभएसम्म भट्टले लगानी बोर्डमा सिइओको हैसियतमा कुनै पनि कार्य गर्न पाउने छैनन्।
मन्त्रिपरिषदले साउन १९ गते भट्टलाई बोर्डको सिइओमा नियुक्त गरेको थियो। भट्टको योग्यता नपुग्ने र विभिन्न ठेक्कामा कालोसूचीमा परेको दाबी गर्दै अधिवक्ता जयबहादुर भुजेलले रिट दायर गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।