काठमाडौं- सरकारले २०६९ सालमा ल्याएको राष्ट्रिय सहकारी नीतिको हालसम्मको कार्यान्वयन उपलब्धि ३ प्रतिशतमात्रै देखिएको छ। राष्ट्रिय सहकारी बोर्डले तयार पारेको राष्ट्रिय सहकारी नीति २०६९ को पुनरावलोकन मस्यौदाअनुसार अहिले कार्यान्वयनमा रहेको सहकारी नीतिको पछिल्लो ८ वर्षको कार्य प्रगति ३ प्रतिशत बराबरमात्रै देखिएको हो।
बोर्डका अनुसार हाल कार्यान्वयनमा रहेको सहकारी नीतिमा आधारित कार्यान्वयन कार्ययोजनामा समावेश भएका १७१ वटा क्रियाकलापहरुमध्ये ३ प्रतिशत पूर्णरुपमा कार्यान्वयन भएको, २७ प्रतिशतको कार्यान्वयन सुरु भएको र ६७ प्रतिशत कार्य सुरु नै नभएको अवस्थामा छन्। त्यस्तै, ३ प्रतशित काम भने अहिलेकै अवस्थामा कार्यान्वयन गर्न नसकिने पनि बोर्डले तयार पारेकाे नयाँ सहकारी नीतिको मस्यौदामा उल्लेख छ।
सहकारी क्षेत्रको विकासका लागि भन्दै २०६९ साल जेठमा सहकारी गरिबी निवारण मन्त्रालयका रुपमा छुट्टै मन्त्रालय स्थापना भएको थियो। मन्त्रालय स्थापना भएकै वर्ष माघमा सरकारले पहिलोपटक राष्ट्रिय सहकारी नीति जारी गर्याे। राष्ट्रिय सहकारी बोर्डले तयार पारेको सहकारी नीतिको मस्यौदालाई सरकारले स्वीकृत गरेपछि उक्त नीति कार्यान्वयनमा आयो। तर, त्यसमा समावेश भएका नीतिगत व्यवस्थाहरु कार्यान्वयन गर्नका लागि कार्ययोजना बनाउन भने मन्त्रालय र सम्बन्धित निकायहरुले ध्यान दिएनन्। केही बनाएका कार्ययोजना कार्यान्वयनमा पनि जिम्मेवार निकायहरुको भूमिका प्रभावकारी हुन सकेन।
बाेर्डमात्र नभई राष्ट्रिय सहकारी महासंघको पछिल्लो अध्ययनअनुसार पनि राष्ट्रिय सहकारी नीति २०६९ को कार्यान्वयन निकै सुस्त देखिएको छ। राष्ट्रिय सहकारी नीति २०६९ मा उल्लेख भएका उद्देश्य, नीति तथा रणनीति कार्यान्वयनको अवस्था निकै न्यून छ। यसको मुख्य कारणका रुपमा सहकारी नीति कार्यान्वयन गर्नुपर्ने बेला संविधान निर्माण, तीनवटै तहको निर्वाचनलगात अरु राजनीतिक घटनाक्रमले गर्दा सहकारी नीति कार्यान्वयनमा बाधा परेको बोर्डले उल्लेख गरेको छ।
नयाँ सहकारी नीति लागू गर्दा भने यसअघिका कमजोरी नदोहोर्याउन सम्बन्धित सबै निकायहरु चनाखो हुनुपर्ने बोर्डले जनाएको छ। ‘नीतिगत व्यवस्थाको स्वामित्वका लागि सबै सरोकारवालाको राय परामर्श र कार्ययोजनासमेत लिई विगतका कमी कमजोरी सच्याउने र सम्बन्धित सरोकारवाला निकायसँग उनीहरुको कार्ययोजना कार्यान्वयनको अवस्था प्रतिवेदन माग गर्नु आवस्यक छ।’ सहकारी नीतिको पुनरावलोकन मस्यौदामा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।