एजेन्सी–बेरुतमा गत मंगलबार राति भएको बिस्फोटको घटनाका कारण लेबनानका प्रधानमन्त्री हसन दियाबसहित मन्त्रिपरिषद्का सबै सदस्यले राजीनामा दिएका छन्। दियाबले सोमबार साँझ राष्ट्रिय टेलिभिजनलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन्।
प्रधानमत्री दियाबले राजीनामा राष्ट्रपति माइकल आउनसमक्ष दिएका छन्। यसको आधिकारिक घोषणा चाँडै नै हुने बताइएको छ। यसअघि दियाब मन्त्रीमण्डलका अधिकांश सदस्यहरुले राजीनामा दिएका थिए।
मंगलबार बेरुत बन्दरगाहमा गोदाममा राखिएको २ हजार ७ सय ५० टन अमोनियम नाइट्रेट बिस्फोटमा २ सय जनाको ज्यान जानुका साथै हजारौं घाइते भएपछि सरकारको राजीनामा माग गर्दै हिंस्रक प्रदर्शन भइरहेको थियो।
लेबनानमा महिनौंको राजनीतिक गतिरोधपछि हसन दियाब गत जनवरीमा प्रधानमन्त्री नियुक्त भएका थिए। देशवासीलाई सम्बोधनका क्रममा उनले देशलाई बचाउन एक रोडम्याप तयार गरे पनि भ्रष्टाचार आरोपका कारण आफूले त्यसलाई अघि बढाउन नसकेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।