एजेन्सी–सरकारी टेलिभिजनले राष्ट्रपति अलेक्जेण्डर लुकासेन्कोले भारी मतले जित्ने भन्दै आइतबार भएको निर्वाचनको ‘एक्जिट पोल’ सार्वजनिक गरेपछि बेलारुसको राजधानी मिन्स्कमा हिंस्रक प्रदर्शन भएको छ।
उक्त समाचारपछि लुकासेन्कोविरोधी नागरिकहरु सडकमा उत्रिएका हुन्। त्यसक्रममा मिन्स्कसहित देशका विभिन्न स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएका छन्। केही स्थानमा प्रदर्शनकारीसमेत घाइते भएका छन्।
सरकारी टेलिभिजन च्यानलले लुकासेन्कोले ८० प्रतिशत मत प्राप्त गरेको र सबै जिल्लामा विजयी भएको भन्दै मत सर्वेक्षण सार्वजनिक गरेको थियो। विपक्षी नता स्वेतलाना तिखानोभ्सानाले ७ प्रतिशतमात्र मत पाएको सरकारी दाबी थियो।
तर आइतबार आयोजित पत्रकार सम्मेलनमा स्वेतलानाले सरकारी तथ्यांकप्रति कुनै विश्वास नभएको बताइन्। ‘मलाई मैले देखेको कुरामा विश्वास छ, बेलारुसको बहुमत हाम्रो साथमा छ।’
विपक्षले सरकारी मतगणनामा विश्वास नभएको जनाउँदै वैकल्पिक रुपमा मतगणना गर्ने जनाएको थियो। हालका राष्ट्रपति लुकासेन्सको सन् १९९४ देखि सत्तामा छन्। यसअघि सन् २०१५ मा भएको निर्वाचनमा पनि लुकासेन्कोले ८३ प्रतिशत मत हासिल गरेको दाबी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।