काठमाडौं– गीतकार डिआर उपाध्याय लकडाउनको समयमा लेखेका १७ गीत युआरएफ एशियन रेकर्डस्मा दर्ज भएका छन्। आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले उपाध्यायलाई एशियन रेकर्डका १७ वटा प्रमाण पत्र प्रदान गरे। प्रमाणपत्र प्रदान गरे लगत्तै मन्त्री यादवले उपाध्यायको कामले आफू खुशी भएको बताए।
उनले गीतसंगीतमा सामाजिक सद्भावका गीत, हरेक शब्दमा फरक –फरक गायक गायिकाको स्वर समावेश गर्ने लगायतका १७ प्रयोग गरेका कारण उक्त रेकर्डले प्रमाण पत्र दिएको हो।
उपाध्यायले गीतको पुस्तक पनि सार्वजनिक गरेका छन् । उपाध्यायलाई रेकर्ड राख्ने काममा संगीतकार सन्तोष श्रेष्ठ र सागर अधिकारीले साथ दिएका छन्।
उपाध्यायले भने, ‘मैले गीत रेकर्डका लागि भन्दा पनि समाजका लागि लेखेको हुँ । तर, समाजमा पनि अरुले गरेभन्दा फरक गरौं भन्ने सोचले आफ्नो काम रेकर्डमा रह्यो।’
२०७५ साल असार ८ गते पहिलो एल्बम ‘प्रणय’ एल्बमबाट सुरु भएको डीआर उपाध्यायको सांगीतिक यात्राले ३२ वटा विभिन्न रेकर्ड कायम गरेको छ।
उपाध्यायले सबै वर्ग, पेशा र समुदायका लागि गीत लेखेका छन् । गीतमा हरेक चाडपर्वलाई समावेश गरेका छन् । उनका गीतमा प्रेम, रोमान्स, यातना, भावना तथा वैभवलगायतका विषय अटाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।