काठमाडौं– टेलिभिजनकर्मी प्रकाश सुवेदीले कार्यक्रम सञ्चालनका क्रममा दिएको अभिव्यक्तिप्रति सर्वत्र आलोचना भएको छ। एक अभिनेत्रीका सन्दर्भमा कार्यक्रम सञ्चालनका क्रममा दिएको अभिव्यक्तिले सुवेदी आलोचित बन्न पुगेका हुन्।
शारीरिक बनावटलाई लिएर सुवेदीले एक नायिकामाथि टिप्पणी गरका थिए। पछिल्लो समय सुवेदीको नाम नलिएरै नायिका केकी अधिकारीले छुद्र टिप्पणी भएको प्रतिक्रिया दिएकी छन्।
अभिनेत्री अधिकारीले सुवेदीलाई लक्षित गर्दै भनेकी छन्, ‘पेशागत आयु दिर्घकालीन वा अल्पकालीन हुनसक्छ तर त्यसको आयु निर्धारण गर्नसक्ने हैसियत कसैको हुँदैन।’ उनले जति नै लामो इतिहास भएपनि बेलाबेला लागिरहने तीन मिनेटको ग्रहण, ग्रहण नै हुने उल्लेख गरेकी छन्। दुई दिनकै भएपनि चाँदनीको पहिचान उज्यालो नै हुने उनले सुवेदीलाई स्मरण गराएकी छन्।
तीन दशक लामो इतिहासको अप्रासंगिक बखान गर्दै नेपाली महिला कलाकारको शारीरिक बनावटमाथि छुद्र टिप्पणी भएको उनले सामाजिक सञ्जालमा लेखेकी छन्। सुवेदीको अभिव्यक्ति अशोभनिय र खेदजनक भएको उनले जनाइन्।
‘दो दिन कि चाँदनी’को उदाहरणले स्वयं सुवेदीको चरित्र र मानसिकतालाई उदांगो पारिदिएको उनले लेखेकी छन्। शारीरिक रुपमा होच्याउने प्रवृति र मानसिकताको सदैव विरोध र वहिष्कार गर्ने उनले बताइन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।