फाइल तस्बिर काठमाडौं– सामाजिक सुरक्षा भत्ता परिचयपत्र साउन महिनाभित्रै नवीकरण गराउनुपर्ने भएको छ। अघिल्ला वर्षहरुमा मंसिर महिनादेखि नवीकरण प्रक्रिया सुरु हुने गरेकाे भए पनि यो वर्षदेखि साउन महिनाभित्र नै नवीकरण गराइसक्नुपर्ने भन्दै स्थानीय तहहरुले सूचना जारी गरेका छन्।
लाभग्राहीहरुको परिचयपत्र नवीकरण तथा नयाँ निवेदन संकलन गर्ने कार्य सामाजिक सुरक्षा ऐन २०७५ र नियमावली २०७६ जारी भएपछि स्थगित रहेकोमा यस वर्षदेखि व्यवस्थापन सूचना प्रणालीमा नवीकरण गरिने राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले जनाएको छ।
अहिलेको परिस्थितिमा स्थानीय तहभन्दा टाढा रहेका कतिपय वृद्धवृद्धा तथा शारीरिक अशक्तता भएका व्यक्तिहरुलाई परिचयपत्र नवीकरणका लागि स्थानीय तहसम्म जान सक्ने अवस्था छैन। यो असहज परिस्थितिमा साउन महिनाभित्रै परिचयपत्र नविकरण गराउनुपर्ने सरकारको व्यवस्था उचित नरहेको टिप्पणीसमेत हुन थालेकाे छ।
साउन महिनामा नवीकरण नगरे परिचयपत्र खारेज हुने हो कि भनेर कतिपय लाभग्राहीले चिन्तासमेत व्यक्त गर्न थालेका छन्। तर साउन महिनाभित्र सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गराउन नसके खारेज नहुने नगरपालिका महासंघका अध्यक्ष अशोक ब्यान्जुले बताए। ‘परिचयपत्र खारेज हुने भन्ने हुँदैन। नवीकरणका लागि समय अपुग भए फेरि थप गर्न सकिन्छ,’ अध्यक्ष ब्यान्जुले भने।
बजेट विनियोजनमा सहजीकरण होस् भनेर आर्थिक वर्षको सुरुवातमै सामाजिक सुरक्षा भत्ता नवीकरण तथा नयाँ निवेदन संकल सुरु गरिएको उनको भनाई छ। ‘लाभग्राहीको संख्या हरेक वर्ष थपगट भइरहन्छ। आर्थिक वर्ष सकिनै लागेपछि परिचयपत्र नवीकरण गर्दा बजेट विनियोजनमा असहज भएको थियो। सहजीकरणका लागि समयमै विवरण संकलन थालिएको हो,’ अध्यक्ष ब्यान्जुले नेपाल लाइभसँग भने।
सरकारले जेष्ठ नागरिक (दलित नागरिकका हकमा ६० वर्ष उमेर पूरा भएका र अन्य ७० वर्ष उमेर पूरा भएका), पूर्ण अपांगता भएका व्यक्ति (रातो रंगको अपांगता परिचयपत्र भएका व्यक्ति), एकल महिला, लोपोन्मुख आदिवासी, जनजाति तथा बालबालिकालाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।