काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नयाँ प्राइभेट र साझेदारी फर्म दर्ताका कामहरु बन्द गरेको छ। अत्यावस्यक वस्तु आयात गर्ने बाहेक अन्य व्यापारमुलक प्रकृतिका सबै प्राइभेट फर्मलाई इजाजत दिने काम बन्द गरिएको विभागले जनाएको छ।
कोभिड १९ महामारी जोखिम न्युनीकरण तथा संक्रमण रोक्न विभागले यस्तो निर्णय गरेको हो। विभागले फर्म नवीकरण, संशोधन र खारेजीका लागि पनि दैनिक सीमा तोकेको छ। प्राइभेट र साझेदारी फर्म नवीकरण, संशोधन, खारेजी र एजेन्सी नवीकरणको काम अधिकतम दैनिक २० वटा मात्रै गरिने विभागले जनाएको छ।
बजार अनुगमनसम्बन्धी कार्य, आयात–निर्यात अनुमति र इजाजतसम्बन्धी कार्य र मुद्दा मामिलाका काम भने नियमित रुपमा हुनेछन्। सेवाग्राहीको भीडभाडले गर्दा कार्यालयबाट नै कोभिड १९ को संक्रमण सर्वसाधारणमा फैलन सक्ने जोखिम बढेका कारण निषेधाज्ञा र सेवा कटौती गरिरहेको अवस्थामा विभागले पनि यस्तो कदम उठाउनु परेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।