एजेन्सी–भारत केरलाको कोझीकोड विमानस्थलमा शुक्रबार साँझ भएको एयर इण्डिया विमान दुर्घटनामा दुई पाइलटसहित १७ जनाको मृत्यु भएको छ। विमान अवतरणका क्रममा रनवेबाट चिप्लिएर ३५ फिट गहिरो स्थानमा खसेको थियो। दुर्घटनामा १ सय ६० जना घाइते भएका छन्।
एयर इण्डियाको उद्धार फ्लाइट एएक्सबी–१३४४ दुबईबाट फर्कंदै थियो। विमानमा १२८ पुरुष, ४६ महिला, १० बालबालिका, ६ चालक दलका सदस्य गरी १९० जना सवार थिए।
अविरल वर्षाका कारण २ पटकसम्म विमान अवतरण गर्ने प्रयास असफल भएकोमा तेस्रो पटकको अवतरणका क्रममा रनवेबाट चिप्लिएको हो। विमान दुई टुक्रा भए पनि आगो भने नलागेको जनाइएको छ।
घाइतेहरुको उद्धार गरी तत्काल अस्पताल लगिएकोमा करिब २५ जनाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन्।
नागरिक उड्डयमन्त्री हरदीपसिंह पुरीले ट्वीट गर्दै घटनाको अनुसन्धान गर्न २ सदस्यीय समिति गठन गरिएको जनाएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी तथा गृहमन्त्री अमित शाहले पनि ट्वीटमार्फत् घटनाप्रति दुःख व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।