काठमाडौं- युरोपियन प्रतिस्पर्धामा सबैभन्दा महत्वपूर्ण मानिने च्याम्पियन्स लिगमा शुक्रबार राति दुई खेल हुँदैछन्। अन्तिम १६ को दोस्रो लेग खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस क्लब रियल मड्रिडसँग साथै इटालियन क्लब युभेन्टसले फ्रेन्च क्लब लायोनसँग खेल्नेछ।
कोरोना माहामारीपछि युरोपमा सुरु भएका लिग फुटबल सकिँदै गर्दा युरोपयन प्रतिस्पर्धाको रौनक बढेको हो। युरोपा लिगका अन्तिम १६ का खेलहरु बिहीबार राति सकिएसँगै च्याम्पियन्स लिगमा अन्तिम १६ का बाँकी खेल हुन लागेका हुन्।
जसमा शुक्रबार रातिको दुई खेलपछि शनिबार राति पनि दुई खेल हुँदैछन्। शनिबार रातिको खेलमा स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब नापोली साथै जर्मन क्लब बायर्न म्युनिक र इंग्लिस क्लब चेल्सी खेल्नेछन्।
युभेन्टस भर्सेस लायोन
पहिलो लेगमा युभेन्टस लायोनसँग १–० ले हारेको थियो। त्यसबाट फर्किन युभेन्टसलाई अहिले आफ्नो मैदानमा अवसर रहेको छ। सिरि ए विजेता युभेन्टसका प्रशिक्षक मोउरिजियो सारीले क्लबका कमजोर भइरहेको आफ्नो अवस्था सुधार्न पनि यो खेल महत्वपूर्ण हुनेछ।
सारी स्वयमले भने एक खेलले आफ्नो भविष्य निक्यौल नगर्ने बताएका छन्। क्लबका निर्देशकहरुसँग आफ्नो कुरा भइरहेको र एउटा खेलले मात्र आफूलाई राख्ने र नराख्नेबारेको निर्णय नहुने उनले बताएका छन्।
गएको सिजन पनि च्याम्पियन्स लिग अन्तिम १६ को खेलमा पहिलो लेगमा एथ्लेटिको मड्रिडसँग २–० ले पराजित भएको अवस्थाबाट युभेन्टस खेलमा फर्किएको थियो। जसमा दोस्रो लेगमा क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए। अहिले लायोनविरुद्ध पनि रोनाल्डो आफ्नो लयमा हुने प्रशिक्षक सारी बताउँछन्।
यसअघि लायोनसँग घरेलु मैदानमा खेलेको दुई खेलमा युभेन्टस अपराजित रहेको छ। जसमा एक खेल जितेको छ भने एक खेल बराबरी खेलेको छ। युरोपा लिगको खेलमा २०१४ मा २–१ ले जितेको युभेन्टसले २०१६ मा च्याम्पियन्स लिग अन्तर्गतको खेलमा १–१ को बराबरी खेलेको थियो।
लायोनले भने इटालीमा खेलेको पछिल्लो पाँच खेलमा चार खेल हारेको छ। एक खेल बराबरी खेलेको छ। युभेन्टसले पनि घरेलु मैदानमा खेलेका च्याम्पियन्स लिगका पछिल्ला तीन खेलमा दुई खेल हारेको छ।
के भन्छन् प्रशिक्षक?
मोउरिजियो सारी – युभेन्टस
यो खेल निकै राम्रो हुने वाला छ, लायोन डिफेन्समा निकै बलियो टिम हो। उनीहरुको पहिलो लेगको जितले पनि उनीहरु आजको खेलमा डिफेन्सिभ हुने देखिन्छ। हाम्रा लागि खेल कठिन हुने देखिन्छ तर असम्भव छैन। अभ्यासमा क्रिष्टियानो रोनाल्डो राम्रो लयमा देखिएका छन्।
रुडी ग्रासिया – लायोन
खेल खेल्ने पाउँदा हामी खुसी छौँ। क्वार्टरफाइनलमा पुग्नका लागि तयार पनि छौँ। युभेन्टसमा निकै राम्रा खेलाडीहरु छन्। लिग कप फाइनलमा पिएसजीसँग खेलेदेखि नै हामीले यहि खेलका लागि तयारी गरिरहेका छौँ।
सम्भावित सुरुवाती ११
युभेन्टस – स्ट्यान्स्नी, कोडार्डो, बोनुची, लि लिग्ट, एलेक्स सान्ड्रो, बेन्टानचुर, पियानिच, राबियोट, बेर्नारडेस्ची, हिग्वेन र रोनाल्डो।
लायोन – लोपेस, डेनायर, मार्सेलो, मार्कल, डुबोइस, काक्युरेट, ग्युमारेस, ओउर, कोर्नेट, डिपेइ र डेम्बेले।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।