काठमाडौं- १ सय ४९ दिनपछि फर्किएको च्याम्पियन्स लिग खेलमा शुक्रबार राति दुई खेल हुँदैछन्। अन्तिम १६ को दोस्रो लेग खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस क्लब रियल मड्रिडसँग साथै इटालियन क्लब युभेन्टसले फ्रेन्च क्लब लायोनसँग खेल्नेछ।
कोरोना माहामारीपछि युरोपमा सुरु भएका लिग फुटबल सकिँदै गर्दा युरोपयन प्रतिस्पर्धाको रौनक बढेको हो। युरोपा लिगका अन्तिम १६ का खेलहरु बिहीबार राति सकिएसँगै च्याम्पियन्स लिगमा अन्तिम १६ का बाँकी खेल हुन लागेका हुन्।
जसमा शुक्रबार रातिको दुई खेलपछि शनिबार राति पनि दुई खेल हुँदैछन्। शनिबार रातिको खेलमा स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब नापोली साथै जर्मन क्लब बायर्न म्युनिक र इंग्लिस क्लब चेल्सी खेल्नेछन्।
म्यानचेस्टर सिटी भर्सेस रियल मड्रिड
म्यानचेस्टर सिटीले पहिलो लेगको खेलमा रियल मड्रिडलाई उसैको मैदानमा २–१ ले हराएको थियो। तर त्यसयता स्पेनिस लिग विजेता मड्रिडमा धेरै कुरा फेरिइसकेको छ। सबैभन्दा बढी आत्मविश्वास र च्याम्पियन्स लिगमा सफल प्रशिक्षक जिनेदिने जिदानको योजना।
सिटीको घरेलु मैदानमा यी दुई टिमबीच यो तेस्रो भेट हुनेछ। यसअघिका दुई भेट बराबरीमा सकिएका थिए। २०१२–१३ मा समूह चरणको खेलमा १–१ को बराबरी साथै २०१५–१६ मा सेमिफाइनल पहिलो लेगमा गोलरहित बराबरी भएको थियो। यसैले विगत हेर्दा पनि सिटीको मैदानमा रियल मड्रिडलाई खेलमा फर्कन सहज देखिँदैन।
रियल मड्रिडले पछिल्लो समय इंग्ल्याण्डमा खेलेको ११ च्याम्पियन्स लिग खेलमा पाँच खेल जितेको छ, ३ बराबरी र ३ खेलमा हार छ। जसमा मड्रिडले म्यानचेस्टर युनाइटेड, लिड्स युनाइटेड, लिभरपुल र टोटनह्यामलाई हराएको छ।
सिटीले युरोपियन प्रतिस्पर्धामा अवे खेल जितेपछिको अवस्थामा घरेलु मैदानबाट पछि परेको इतिहास यसअघि छैन। अवे मैदानमा ७ खेल जितेको अवस्थामा सिटीले ती सातै पटक अघिल्लो चरणमा स्थान बनाएको छ।
रियल मड्रिडका प्रशिक्षक जिनेदिने जिदानको च्याम्पियन्स लिग उपस्थिति बलियो भए पनि म्याचनेस्टर सिटीका प्रशिक्षक पेप गार्डिओलाको अवस्था पनि कमजोर छैन। नकआउट चरणका च्याम्पियन्स लिग खेलहरुमा गार्डिओलाले प्रशिक्षकका रुपमा २८ खेल जितेका छन्। जुन जोसुकै प्रशिक्षकको भन्दा राम्रो नतिजा हो।
सम्हालिनुपर्ने डिफेन्सको अवस्थासँगै रियल मड्रिडलाई म्यानचेस्टर सिटीविरुद्ध गोलमा बढ्नैपर्ने बाध्यता छ। कप्तान सर्जियो रामोस एक खेलको प्रतिबन्धमा रहेकाले मड्रिड टिममा मुख्यको खम्बाको अभाव हुनसक्नेछ। सिटीमा पनि गोलमा राम्ररी बढ्न सक्ने स्ट्राइकर अग्युरो चोटका कारण बाहिर छन्।
युरोपियन प्रतिस्पर्धा पछिल्लो समय रामोसबिना रियल मड्रिडले खेलेका ६ खेलमा १ खेल मात्र जितेको छ। पाँच खेल हारेको छ। रामोसबिना जितेको एक खेल पनि खासै महत्वपूर्ण थिएन। यही सिजन समूह चरणको खेलमा क्लब ब्रगलाई ३–१ ले जित्दा रियल मड्रिड त्यसअघि नै नकआउट चरणमा पुगिसकेको थियो।
२०१७–१८ को क्वाटरफाइनलमा युभेन्टसविरुद्ध रियल मड्रिडले पहिलो लेगमा ३ गोल हानेको थियो। दोस्रो लेगमा रामोस खेलमा थिएनन्। जहाँ युभेन्टसले तीनै गोल हानिदिएको थियो। अन्तिम समयमा लुकास भास्क्वेजमार्फत पाएको पेनाल्टीले मात्रै मड्रिड जोगिन सकेको थियो।
२०१८–१९ को च्याम्पियन्स लिग त रामोस र रियल मड्रिड दुवैका लागि निराशाजनक रह्यो। रामोसबिना सिएसकेए मस्कोसँग खेलेको पहिलो खेल नै रियल मड्रिडले १–० ले गुमाएको थियो। मस्कोसँगकै दोस्रो खेलमा पनि रामोसबिना रियल मड्रिड ३–० ले हारेको थियो।
त्यही सिजन रियल मड्रिडले अन्तिम १६ को खेलमा आयाक्सलाई पहिलो लेगमा २–१ ले हराउँदा रामोसले जानीजानी पहेँलो कार्डका लागि फोउल गरे। पहिले नै एक पहेँलो कार्डमा रहेका रामोसको उद्देश्य क्वाटरफाइनलको खेल गुमाउनुभन्दा अन्तिम १६ कै दोस्रो लेग गुमाउँछु भन्ने थियो।
तर रामोसको त्यो सोच टिमाथि भारी भयो। आयाक्ससँगको दोस्रो लेगमा रियल मड्रिड ४–१ ले पराजित हुन पुग्यो। रामोसको त्यही प्रतिबन्धले यो सिजन उनले च्याम्पियन्स लिगमा पहिलो खेलमा पिएसजीविरुद्ध खेल्न पाएनन्। जहाँ नेमार र एमबाप्पेबिनाको पिएसजीसँग रियल मड्रिड ३–० ले पराजित भएको थियो।
रियल मड्रिडमा आबद्ध भए यता रामोसले चोट र प्रतिबन्धका कारण ३० च्याम्पियन्स लिग खेल गुमाएका छन्। जसमा समग्रमा हेर्दा भने रियल मड्रिडले १९ खेलमा जित, तीन बराबरी र ८ हार भोगेको छ।
रियल मड्रिडले जितका लागि सिटीको मैदानमा कम्तिमा दुई गोल गर्नुपर्नेछ। त्यसैले कप्तान सर्जियो रामोसबिनाको डिफेन्समा भन्दा मड्रिडले अट्याकमा नै बल लगाउनुपर्नेछ। जसमा विशेष हुनेछन् – मार्को एसेन्सियो, करिम बेन्जेमा र इडन हाजार्ड।
अहिले मड्रिड टिमको अभ्यासमा पनि त्यही गोलमा बढ्ने शैली देखिन्छ। लामो दुरीबाट सट प्रहार गर्ने र वान भर्सेस वानबाट क्रसमा बढ्ने शैलीको विकास भइरहेको छ। त्यसमा कोरोना माहामारीका कारण रोकिएपछि सुरु भएको ला लिगामा लयमा रहेका बेन्जेमा केन्द्रमा रहनेछन्।
के भन्छन् प्रशिक्षक?
जिनेदिने जिदान– रियल मड्रिड
हामीले यो खेलका लागि राम्रो तयारी गरेका छौँ। हामी अहिले खेलमा पछि परेको अवस्था छ तर पनि हामी खेलमा फर्किन पूरा मेहनत लगाउने छौँ, यो हाम्रा लागि फाइनल खेल बराबर हो। खेलमा के हुन्छ त्यो त मलाई थाहा छैन, तर दुई राम्रा टिमबीच एक राम्रो खेल अवश्य हुनेछ। हामी अगाडि बढ्नका लागि खेल्नुपर्ने हरेक खेल फाइनल खेल बराबर नै हो। त्यसमा महत्वपूर्ण कुरा हामी सबै फिट छौँ।
पेप गार्डिओला – म्यानचेस्टर सिटी
जिदानको योजना थाहा पाउन निकै गाह्रो कुरा हो। जिदानको योजनाबारे तपाइँ आफूलाई थाहा छ भन्ने सोचिरहेको हुनुहुन्छ तर उनी नयाँ कुरा लिएर मैदान आइदिन्छन् र सबै फेरिन्छ। ला लिगा रोकिएर सुरु भएपछिका सबै खेल मैले हेरेको छु। अब हामीले के गर्न सक्छौँ भन्नेमा विचार गरेर अगाडि बढ्नुपर्छ।
सम्भावित सुरुवाती ११
सिटी – एडरसन, वाल्कर, फर्नान्डिन्हो, लापोर्ते, योआओ क्यान्सेलो, डि ब्रायन, रोड्रि, गुन्डोगन, महरेज, जेसस र स्टर्लिङ।
मड्रिड – कोर्टुवा, कार्भाजल, भारान, मिलिटाओ, मेन्डी, क्यासेमिरो, क्रुस, मोडरिक, हाजार्ड, भिनिसियस र बेन्जेमा।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।