काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) का निवर्तमान कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान उद्योगी व्यवसायीहरूको अर्को संस्था नेपाल उद्योग परिसंघ (सिएनआइ)मा प्रवेश गरेका छन्। परिषंघले प्रधानलाई ऊर्जा विकास परिषदको अध्यक्षको जिम्मेवारी दिएको छ।
प्रधानले महासंघमा आफूले उठाएका सही विषयमा पनि गलत प्रवृति भएका व्यक्तिहरुको हालीमुहाली हुँदा छायामा पारिएका कारण संस्था छोडेर सिएनआई प्रवेश गरेको नेपाल लाइभसँग बताएका छन्।
‘महासंघमा गलत चिज भनेर औल्याउँदा पनि कोही अगाडि बढ्ने मान्छे भएन। म कोषाध्यक्ष हुँदा महासंघको साढे १० करोड रुपैयाँ बराबरको बेरुजु घटाएको थिएँ। तर नयाँ बेरुजु फेरि निकाल्न थाले,’ प्रधानले भने, ‘मैले यो विषयमा महासंघमा कुरा उठाएँ। कागको थानमा बकुल्ला जस्तो भइयो। त्यसकारण मलाई त्यहाँ बस्नु उपयुक्त लागेन।’
महासंघमा राजनीति र पदको लोभ मान्ने व्यक्तिहरु हाबी भएको प्रधानको ठहर छ। प्रधानले महासंघको कोषाध्यक्ष पदबाट २०७५ माघमा राजीनामा गरेका थिए।
महासंघअन्तर्गतको कृषि उद्यम केन्द्रमा आर्थिक हिनामिना भएको विषय बाहिरिएसँगै महासंघका उच्च पदस्थहरूले उनलाई राजीनामा दिन बाध्य पारेका थिए। कृषि उद्यम केन्द्रको विषय महासंघको आन्तरिक विषय भएको तर संचार माध्याममा प्रधानले प्रचार गरेको भन्दै उनलाई राजीनामा दिन बाध्य बनाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।