काठमाडौं-वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यवसाय दर्ता र नवीकरण लगायतका काम अनलाइनबाटै गर्न सुरु गरेको छ। विभागले बुधबारबाट अनलाइनमार्फत् आएका विवरणहरुका आधारमा व्यापार व्यवसाय गर्ने फर्महरुको दर्ता नवीकरण र खारेज अनलाईनमार्फत् गर्न सुरु गरेको हो।
विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले वाणिज्य व्यवसाय दर्ता र नियमनको कामलाई व्यवस्थित गर्न अनलाइनमार्फत् सेवा दिन थालिएको बताए। ‘प्राइभेट फर्म, साझेदारी फर्म, कम्पनी तथा एजेन्सी दर्ता, नवीकरण, संशोधन र खारेजीलयातका काम अब अनलाईनबाटै हुन्छ,’ उनले भने।
अनलाइन सेवा सुरु भएको पहिलो दिन बुधबारमात्रै ८ वटा कम्पनीले अनलाईन दर्ता र नवीकरणका लागि आवेदन दिएको विभागले जनाएको छ। जसमध्ये २ वटालाई बुधबार नै दर्ता प्रमाणपत्र दिईएको छ भने ६ वटाको थप कागजात माग गरिएको छ। कोभिड-१९ महामारीको संक्रमण जोखिम बढिरहेका बेला अनलाइनमार्फत् सेवा दिनु अपरिहार्य बनेको विभागकाे भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।