एजेन्सी–लेबनानको बेरुतमा कम्तिमा पनि १ सय ३५ जनाको मृत्यु हुनुको साथै ४ हजारभन्दा बढी घाइते हुने गरी मंगलबार राति भएको बिस्फोटको घटनापछि बेरुत बन्दरगाहका अधिकारीहरुलाई नजरबन्दमा राखिएको छ।
सूचनामन्त्री मनाल अब्देल समादले सन् २०१४ देखि नै उक्त बिस्फोटक पदार्थलाई भण्डारण गर्ने, सुरक्षा दिने र त्यससम्बन्धी कागजातका काम गर्ने काममा संलग्न सबै बन्दरगाहका अधिकारीहरुलाई नजरबन्दमा राखिएको जानकारी दिए।
बेरुत बन्दरगाहमा असुरक्षित रुपमा गोदाममा राखिएको २ हजार ७ सय ५० टन अमोनियम नाइट्रेट बिस्फोट हुँदा उक्त घटना भएको थियो। अमोनियम नाइट्रेट रासायनिक मल बनाउन तथा बिस्फोटक पदार्थ बनाउन प्रयोग गरिन्छ।
भन्सार प्रमुख बद्री दाहेरले उक्त स्थानबाट बिस्फोटक पदार्थ हटाउन आग्रह गर्दा पनि नहटाइएको बताएका छन्। उक्त बिस्फोटक बेरुत बन्दरगाहमा सन् २०१३ देखि नै रहेको बताइन्छ ।
बेरुत बन्दरगाहका प्रमुख तथा भन्सार प्रमुखले उक्त स्थानबाट रासायनिक पदार्थ हटाउन आफूहरुले न्यायिक निकायलाई कैयौंपटक आग्रह गरिसकेको स्पष्टीकरण दिएका छन्।
लेबनानको सर्वोच्च रक्षा परिषद्ले यस घटनाका दोषीलाई कडाभन्दा कडा कारबाही गर्ने बताइसकेको छ।
घटनापछि लेबनानमा २ साताका लागि संकटकाल घोषणा गरिएको छ भने सरकारले १ सय बिलियन लिरा राहतको घोषणा गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।