काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कोरोना महामारीको संक्रमण जोखिम तथा चाडवाड लक्षित बजार अनुगमनलाई तीव्रता दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका विभिन्न निकायबाट २० कर्मचारी थपेको छ।
उद्योग मन्त्रालयबाट २ जना उपसचिव र ३ जना शाखा अधिकृतसहित ५ जना, खानी तथा भूगर्भ विभागबाट २ जना भूगर्वविद् र एक जना खरिदार, गुणस्तर तथा नापतौल विभागबाट १ जना निरीक्षक, १ जना रसायनशास्त्री, १ जना मेकानिकल इन्जिनियर र १ जना सहायक निरीक्षक गरी ४ जनालाई विभागमा बोलाइएको छ। त्यस्तै उद्योग विभागबाट ५ जना अधिकृत र ३ जना नायब सुब्बालाई पनि बजार अनुगमनमा खटिने गरी विभागमा ल्याइएको छ।
विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले कृषि तथा पशुपन्छी विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयबाट पनि स्वास्थ्य र कृषि तथा पशुपन्छीतर्फको अनुगमनका लागि कर्मचारी बोलाउने तयारी भइरहेको बताए। आचार्यका अनुसार विभागले नयाँ कर्मचारीलाई बुधबार बजार अनुगमनसम्बन्धी प्रशिक्षण दिएको छ।
बजार अनुगमनलाई व्यापक बनाउन भौगोलिक रुपमा क्षेत्र बनाएको पनि उनको भनाई छ। ‘ललितपुर क्षेत्र, भक्तपुर, काठमाडौंको कलंकी, बालाजु, चाबहिल र अन्य क्षेत्र भनेर ५ वटा क्षेत्र तोकिएको छ। त्यसैका आधारमा अनुगमन हुन्छ,’ उनले भने, ‘अब दैनिक ७ वटा टोलीसम्म बजार अनुगमनका लागि खटिन्छन्। एउटा टोली विभागमा रहन्छ।’
कर्मचारी थपिएसँगै विभागले बुधबारमात्र २२ वटा व्यवसायिक फर्ममा अनुगमन गरेको छ। अनुगमन गरिएका २२ वटा पसलमध्ये ५ वटालाई कारबाही गरिएको छ। कारबाहीबाट विभागले बुधबारमात्र ५ लाख २० हजार रुपैयाँ बराबर जरिवाना असुलउपर गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।