एजेन्सी-पाकिस्तानले कश्मीर, लद्दाख, जूनागढसहितलाई समेट्दै राजनीतिक नक्सा जारी गरेपछि भारतले त्यसलाई हाँस्यास्पद भनी टिप्पणी गरेको छ।
भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै पाकिस्तान नक्साको कानुनी वैधता र अन्तर्राष्ट्रिय विश्वसनीयता नभएको जनाएको हो। ‘यसले केवल सीमा पार आतंकको सहायताबाट क्षेत्रीय बिस्तारको पाकिस्तानी सनकको पुष्टि गर्छ,’ विदेश मन्त्रालयले भनेको छ।
विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले सन् १९४८ मा सरदार बल्लभभाइ पटेलको अथक प्रयासका कारण जूनागढका बासिन्दाले सर्वसम्मतिबाट भारतको अंग बन्ने विकल्प चुनेको जनाएका छन्।
पाकिस्तान मन्त्रिपरिषद्ले मंगलबार नयाँ राजनीतिक नक्सालाई स्वीकृति दिएको थियो। पहिलो कश्मीरमाथि दाबी गर्दै आएको पाकिस्तानले नयाँ नक्सामा लद्दाख, सियाचिनसहित गुजरातको जूनागढमाथि दाबी गरेको थियो। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले यसलाई पाकिस्तानको इतिहासमै ऐतिहासिक बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।