एजेन्सी–लेबनानको राजधानी बेरुतको तटीय क्षेत्रस्थित बिस्फोटक पदार्थ राखिएको गोदाममा भीषण बिस्फोट हुँदा कम्तिमा पनि ७० जनाकाे मृत्यु हुनाको साथै ४ हजारभन्दा बढी घाइते भएका छन्।
बिस्फोटबाट घाइतेहरुले स्थानीय अस्पतालहरु भरिएका छन् भने कैयौं भवनहरु क्षतिग्रस्त भएका छन्। भिडियोहरुमा आगोको मुस्लो आकाशमा धेरै माथिसम्म गएको देखिएको थियो। बिस्फोट २४० किलोमिटर टाढा साइप्रससम्म सुनिएको थियो।
राष्टपति माइकल अउनले ट्वीट गर्दै उक्त स्थानमा २ हजार ७ सय ५० टन एमोनियम नाइटेट असुरक्षित तरिकाले भण्डार गरिएको जनाएका छन्।
घटनाबारे अनुसन्धान सुरु भएको छ। लेबनानको सर्वोच्च सुरक्षा परिषद्ले घटनाका दोषीले हदैसम्म सजाय भोग्ने जनाएको छ।
घटनापछि लेबनानमा ३ दिनको शोक घोषणा गरिएको छ भने सरकारले आपतकालीन कोषबाट १०० बिलियन लिरा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
यस्तै, प्रधानमन्त्री हस्सन दायबले घटनालाई विनाशकारी भन्दै दोषीलाई कारबाही गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन्। बिस्फोटक पदार्थको गोदाम त्यहाँ सन् २०१४ देखि भएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।