काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले पारदर्शी हिसाबबाट निजी क्षेत्रको लगानी बढाएर आर्थिक विकासको बाटोमा अघि बढ्ने सरकारको लक्ष्य रहेको बताएका छन्। अडिटर्स एसोसिएसनको स्थापना दिवसको कार्यक्रममा अर्थमन्त्री खतिवडाले प्रभावकारी लेखांकन् र लेखापरीक्षणबाट वित्तीय अनुशासन कायम गर्दै अघि बढ्ने पनि उल्लेख गरे।
मन्त्री खतिवडाले सरकारले लेखापरीक्षण ऐन कार्यान्वयनमा ल्याइसकेको भन्दै त्यसैको माध्यमबाट वित्तीय अनुशासन र उत्तरदायित्व कायम गर्ने गरी अघि बढ्न लेखा व्यवसायीलाई आग्रह पनि गरे।
नेपालमा व्यवसायिक वातावरणमा सुधार हुँदै गएको भन्दै खतिवडाले अझै काम गर्न बाँकी रहेको उल्लेख गरे। उनले लेखाका मापदण्ड, रिपोर्टिङ प्रणाली र अन्तिम लेखापरीक्षणको विश्वसनीयतामा सरकारले ध्यान दिइरहेको बताए।
मन्त्री खतिवडाले लेखा व्यवसायीका योग्यता अझै बलियो बनाउनुपर्नेमा जोड दिए। उनले लेखापरीक्षण सम्बन्धि तालिमलाई प्रभावकारी बनाएर अघि बढ्नुपर्ने बताए।
खतिवडाले अबका दिनमा विद्युतीय कारोबार बढ्ने भएकाले प्रविधसँग जोडिएका जोखिमलाई ध्यान दिन आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।