काठमाडौं-सहकारी विभागले सहकारीमा सन्दर्भ ब्याजदर निर्धारणका लागि अध्ययन गर्न ५ सदस्यीय उपसमिति गठन गरेको छ। सन्दर्भ ब्याजदर निर्धारण समितिको गत आइतबार बसेको बैठकले राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरेकाे हो।
उपसमितिमा नेपाल राष्ट्र बैंकबाट उपनिर्देशक केदार पोखरेल, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडका अध्यक्ष परितोष पौड्याल, राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईं सदस्य छन्। त्यस्तै सदस्य सचिव सहकारी विभागकी शाखा अधिकृत शोभा घिमिरेलाई तोकिएको छ।
सन्दर्भ ब्याजदर निर्धारण समितिको पहिलो बैठक साउन ६ गते बसेको थियो। विभागका उपरजिस्ट्रार एवं सूचना अधिकारी सुरेन्द्रराज पौडेलले गत आइतबारको बैठकले अध्ययन उपसमिति गठन गरेको र साउन महिनाभित्र प्रतिवेदन बुझाउन भनिएको बताए। ‘उपसमितिले प्रतिवेदन बुझाएपछि मूल समितिले त्यसमाथि आवश्यक छलफल गरेर ठोस निर्णय गर्ला’ पौडेलले भने।
सहकारी नियमावली २०७५ को दफा २३ ले सन्दर्भ ब्याजदर निर्धारणको आधार र प्रकृया तोकिदिएको छ। नियमावलीले विभिन्न ७ वटा विषयलाई आधार मानेर ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गरेको छ। जसअनुसार बचत तथा ऋणको कारोबार गर्ने केन्द्रीय विषयगत संघमा आवद्ध संस्था र संघहरुको औसत ब्याजदर, सहकारी बैंकको औसत ब्याजदर, ‘क’ वर्गका बैंकहरुको औसत ब्याजदर, ब्याजदरका सम्बन्धमा मन्त्रालय, विभागलगायत सम्बन्धित निकाय र राष्ट्र बैंकले गरेका अध्ययन प्रतिवेदनलाई समेत सन्दर्भ ब्याजदर निर्धारण गर्दा आधार मानिनेछ।
त्यसैगरी, विनियमावलीले सन्दर्भ ब्याजदर निर्धारण गर्दा मुख्यतया तीन वटा सिद्धान्तलाई हेरिनुपर्ने पनि व्यवस्था गरेको छ। जसमा बचतमा भारित औसत ब्जाजदरभन्दा बढी तर ऋणमा भारित औसत ब्याजदरभन्दा कम र बचत तथा ऋणको ब्याजदरको अन्तर ६ प्रतिशतभन्दा कम हुने गरी सन्दर्भ ब्याजदर तोक्नुपर्ने व्यवस्था विनियमावलीमा छ।
सहकारी ऐन २०७४ को दफा ५१ तथा सहकारी नियमावली २०७५ को परिच्छेद ५ (२३) ले सन्दर्भ ब्याजदर निर्धारणसम्बन्धी व्यवस्था गरेको छ।
सहकारी विभागका रजिस्ट्रारको संयोजकत्वमा गठन हुने ८ सदस्यीय समितिले सन्दर्भ ब्याजदर निर्धारण गर्न सक्ने प्रावधान छ। यसरी तोकिएको सन्दर्भ ब्याजदर सहकारी संस्थाका लागि निर्देशक ब्याजदरका रुपमा रहने ऐनमा उल्लेख छ। विभागले गतवर्ष गतवर्ष साउन १९ गतेबाट सहकारी संस्थामा पहिलोपटक सन्दर्भ ब्याजदर लागू गरेको थियो।
विभागले गत वर्ष कर्जामा अधिकतम १६ प्रतिशत र बचतमा न्युनतम १० प्रतिशत ब्याजदर तोकेको थियो। अहिले कोभिड-१९ महामारीका कारण बैंक तथा वित्तीय संस्थाको मात्र नभई सहकारीको पनि कर्जा बिस्तार खुम्चिएको तथा तरलता पनि पर्याप्त देखिएका बेला कर्जा र निक्षेप दुवैको ब्याजदर घटिरहेको छ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् लघुवित्तहरुको कर्जाको ब्याजदर १८ प्रतिशतबाट १५ प्रशितमा झारिदिएपछि सहकारी संस्थामा ब्याजदर घटाउने गरी सन्दर्भ ब्याजदर हेरफेर गर्ने विषय चर्चामा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।