एजेन्सी–स्पेनका पूर्वराजा हुँवा कार्लोसले देश छाड्ने निर्णय गरेका छन्। भ्रष्टाचारको आरोप लागेका ८२ वर्षीय पूर्वराजाले देश छाड्ने निर्णय गरेको त्यहाँको राजदरबारले जनाएको छ। उनले आफ्ना छोरा फेलिपेलाई पत्र लेख्दै आफ्नो निर्णयबारे जानकारी दिएका हुन्। कार्लोसले ६ वर्षअघि छोरालाई सत्ता हस्तान्तरण गरेका थिए।
पूर्वराजाले भ्रष्टाचार अनुसन्धानका लागि आवश्यक परे आफू उपलब्ध हुने पनि बताएका छन्। साउदी अरबसँग भएको हाइस्पीड रेलको ठेक्कामा हुँवा कार्लोसको संलग्नताबारे स्पेनी सर्वोच्च अदालतले गत जुनमा अनुसन्धान अघि बढाएको थियो।
उनले स्पेन कहिले छाड्छन् या देश छाडेपछि कहाँ बस्छन् भन्नेबारे स्पष्ट भएको छैन।
कुशलतापूर्वक स्पेनलाई तानाशाही व्यवस्थाबाट प्रजातन्त्रसम्म डो¥याएका कार्लोसका लागि यो अपमानजनक बहिर्गमन भएको बताइएको छ। ४० वर्षसम्म शासन गरेपछि उनले सन् २०१४ मा गद्दी त्यागेक थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।