एजेन्सी–भारतको श्रीनगरमा दुई दिनका लागि कर्फ्यु लगाइएको छ। जम्मू–कश्मीरको विशेष दर्जा समाप्त गरिएको पहिलो वर्षगाँठमा विरोध प्रदर्शन हुन सक्ने आशंका गर्दै प्रशासनले मंगलबार र बुधबार कर्फ्यु लगाएको हो।
श्रीनगरका प्रशासन प्रमुखले पृथकतावादी र पाकिस्तानसमर्थित समूहले ५ अगष्टका दिन कालो दिन मनाउने योजना बनाएको जानकारी पाएकाले हिंस्रक विरोध प्रदर्शन हुन सक्ने आशंकामा कर्फ्यु लगाइएको जनाएका छन्। यसरी भेला हुँदा कोरोना संक्रमण फैलनसक्ने चेतावनी पनि प्रशासनले दिएको छ।
गत वर्ष केन्द्रको नरेन्द्र मोदी सरकारले जम्मू–कश्मीरलाई विशेष दर्जा दिने संविधानको धारा ३७० खारेज गरेको थियो। यसका साथै जम्मू–कश्मीरलाई २ केन्द्रशासित प्रदेशमा विभाजित गरिएको थियो।
मोदी सरकारको यो कदम निकै विवादित भयो। कश्मीरको मूलधारका राजनीतिक दलसहित भारतका कैयौं विपक्षी दलले यसको आलोचना गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।